ad ad

राजनीति


‘गगन थापाको संवाद यात्रालाई कांग्रेसले चिन्दैन’

‘गगन थापाको संवाद यात्रालाई कांग्रेसले चिन्दैन’

नेपालखबर
माघ १५, २०८० सोमबार १३:३६, काठमाडौँ

पार्टीलाई जानकारी नदिई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा सुरु गरेको संस्थापन पक्षीय नेताहरुले बताएका छन्। 

शनिबारदेखि थापाले झापाको मेची पुलबाट ‘संवाद यात्रा’ सुरु गरेका छन्। उनको यात्रा हुलाकी राजमार्ग आसपास पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म २१ जिल्लामा चल्ने बताएका छन्।

अभियानको पहिलो दिनका कार्यक्रममा महामन्त्री थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला र प्रदीप पौडेललगायत नेता सहभागी भए।

तर, उनको यो अभियानलाई पार्टीले नचिन्ने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

‘यो पार्टीको औपचारिक कार्यक्रम होइन, यसलाई पार्टीले रिकग्नाइज गर्दैन,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘महामन्त्रीजीको कार्यक्रम पार्टीको निर्णय अनुसार भएको पनि होइन, उहाँलाई हिँड्न मन लाग्यो, त्यसका लागि ब्यानर चाहिएको थियो, राख्नुभयो।’

कांग्रेसले आधिकारिक रुपमा भने अलग्गै अभियान सुरु गर्ने घोषणा गरेको छ। माघ १६ गतेदेखि १० दिने ‘समुदायमा कांग्रेस’ अभियान सुरु हुनेछ।

पार्टीको अभियानमा सहभागी नभई महामन्त्रीले छुट्टै अभियान चलाएकोमा विश्वकर्माले असन्तुष्टि जनाए। छुट्टै कार्यक्रम नगर्न आग्रह गर्दा नमानेको उनको गुनासो छ।

‘हामीले कार्यक्रम नजुधाइदिन आग्रह ग¥यौँ, यसरी जनतामा कन्फ्युजन नपारिदिनू, हाम्रो अभियानमै हिँडिदिनुस् भन्यौँ,’ विश्वकर्माले थपे, ‘तर उहाँले होइन मेरो अभियान सुरु गरिसकेँ भन्नुभयो।’

संवाद यात्रा सुरु गर्दै महामन्त्री थापाले यो पार्टीको अभियानकै निरन्तरता भएको दाबी गरेका छन्। तर, प्रचार विभाग प्रमुख विश्वकर्माले महामन्त्री थापा सहभागी हुने कार्यक्रम नै नबनेको बताए। 

‘उहाँले जिल्लामा नखटिकन सबैतिर घुम्छु भन्नुभयो, उहाँको कार्यक्रम र हाम्रो समुदायमा कांग्रेस कार्यक्रम फरक छ,’ उनले भने, ‘हाम्रो कार्यक्रम १० दिनसम्म चल्छ। त्यसका लागि हाम्रो कार्यविधि नै बनेको छ। कार्यविधि अनुसार नेताहरु खटिँदा महामन्त्रीजी खटिनुभएको छैन।’

यस्तो छ थापाको कार्यक्रम
महामन्त्री थापाले औपचारिक कार्यक्रम नगर्ने बताएका छन्।

प्रत्येक दिन हुलाकी राजमार्गले छोएका जिल्लामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत गुनासा सुन्ने लगायत कार्यक्रम हुने उनको सचिवालयले जनाएको छ। 

महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम छ। संवाद यात्रा २६ माघमा सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .