नेपाली कांग्रेसले भोलि (माघ १६) गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दै छ।
नेकपा एमालेको ग्रासरुट अभियान, झुलाघाट–चिवाभन्ज्याङ समृद्धि यात्रा, माओवादी केन्दको रुपान्तरण अभियानपछि कांग्रेसले १० दिने अभियान गर्न लागेको हो।
समुदायमा कांग्रेस अभियान ६ हजार ७४३ वडामा एकैसाथ सुरु हुने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
हिमाल, पहाड र तराईको मौसम अनुसार बिहानै कार्यक्रम सुरु हुनेछ।
‘कार्यक्रममा मञ्च हुँदैन, भाषण गरिँदैन, वडा तहको पनि टोलमा मात्र कार्यक्रम हुन्छ,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘किसान, आमा, कृषि समूह, सहकारी, युवा, व्यापारी, शिक्षक, प्राध्यापक, वकिल, कर्मचारी बालबालिका, अभिभावक लगायत २५ बढी समूहका गुनासो हामी सुन्छौँ।’
अभियानको क्रममा पार्टीका जनप्रतिनिधि, नेताले गरेका काम चित्त बुझे/नबुझेको स्थानीयसँग जानकारी लिने उनी बताउँछन्।
‘गाउँका सामान्यभन्दा सामान्य व्यक्तिसँग हामी अनौपचारिक रुपमा भलाकुसारी गछौँ,’ उनले थपे, ‘मुख्यगरी अब जनतामा बढेको निरासा के हो? यसको समाधान कसरी गर्ने, त्यो पहिल्याउन अभियान सुरु गर्न लागिएको हो।’
यसअघि कात्तिकमै तय गरिएको भए पनि कार्यक्रम ढिला थालिएको उनले दाबी गरे।
कात्तिकमा भूकम्प गएर कार्यक्रम रोक्नुपर्यो। मंसिरदेखि चिसो भयो, पुसमा पनि चिसोले सकिएन, अब माघको आधा भएपछि दिन तात्न थाल्यो अनि सहिद दिवसदेखि हाम्रा श्रद्धेय सभापति सुशील कोइरालाको स्मृति दिवससम्म अभियान गर्ने भयौँ,’ विश्वकर्माले थपे।
समुदायमा कांग्रेस अभियानका लागि नेताहरु जिल्ला र वडा तहमा खटिसकेका छन्।
‘हाम्रो समुदायमा कांग्रेस कार्यक्रम १० दिन चल्छ, त्यसका लागि कार्यविधि अनुसार नेताहरु खटिनुहुन्छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने।
तर, महामन्त्री गगनकुमार थापाले छुट्टै संवाद यात्रा गरिरहेका छन्। उनीबाहेकका नेता जिल्लादेखि वडा तहमा खटिएका छन्।
महामन्त्री थापाको कार्यक्रम निजी भएको र त्यसलाई पार्टीले नचिन्ने विश्वकर्मा बताउँछन्।
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिसन ०८४ सुरु गरिसकेका छन्। कांग्रेसले पनि संगठन बलियो बनाउन अभियान थालेको नेताहरु बताउँछन्।
Shares
प्रतिक्रिया