ad ad

राजनीति


आरजु राणा र प्रेम सुवालबीच संसदीय समितिमा चर्काचर्की (भिडिओ)

आरजु राणा र प्रेम सुवालबीच संसदीय समितिमा चर्काचर्की (भिडिओ)

तस्बिर : नेपालखबर


नेपालखबर
माघ १५, २०८० सोमबार १७:०, काठमाडौँ

संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच चर्काचर्की भएको छ। 

सोमबार सिंहदबारमा बसेको समितिको बैठकमा बोल्ने क्रममा उनीहरूबीच चर्काचर्की भएको हो। सांसद सुवालले बोल्ने क्रममा सभापति राणाले ‘पोइन्ट टु पोइन्ट’ गर्नुस् भनेपछि सुवाल आक्रोशित भएका हुन्। 

सांसद सुवाल नेपालमा पाइने औषधिको गुणस्तरको विषयमा आफ्नो कुरा राखिरहेका थिए। उनले ‘गरिबलाई मार्न पाइँदैन’ भनेपछि सभापति राणाले ‘पोइन्ट टू पोइन्ट’ गर्न सुझाइन्।

उनले सभापति राणालाई ठूलो कुरा गर्न चेतावनी दिँदै बोल्नै नबोली हिँड्न खोजे। उनले आफूले बोकेको कागजात समेत फ्याँल्दै बोल्ने बेलामा पक्षपात गरिएको बताए। 

उनले राणालाई देखाउँदै ‘सिंहदबार कब्जा गर्न पाएपछि मात्रै खुसी’ हुने बताए। रावल आक्रोशित भएपछि समितिको बैठकमा उपस्थित भएका उद्योगमन्त्री रमेश रिजालले पनि रोक्न थालेका थिए।

भिडिओ

सुवाल-राणा सवाल-जवाफ :
सुवाल : ....नेपालको औषधिहरू गुणस्तर भएन। नेपालको औषधि नखाएर विदेशको उत्पादन हुन थाल्यो। यस्तो गर्न मिल्छ, मन्त्रीज्यू? त्यो औषधिको कम्पनी कुन हो, खोई नियमन? यस्तो गर्न भएन, गरिबलाई मार्ने काम सरकारले गर्न भएन। यो मिलेन।

राणा : पोइन्ट टू पोइन्ट गरिदिनुस्।

सुवाल : पोइन्टमै हो। तपाईंहरूलाई घोचेपछि अनि पोइन्ट हुँदैन। सबै थाहा छ सभापतिज्यू। तपाईंहरूलाई घोचेको कुरा मन पर्दैन, सबै थाहा छ हामीलाई। तपाईंहरू त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि। गरिबको के चिन्ता? सबै थाहा छ। प्रजातान्त्रिक समाजवाद पनि थाहा छ, नाटकै नाटक त हो नि।

बीपी कोइरालाको त बीपी प्रतिष्ठान नै बेच्नुभयो नि। सबै थाहा छ हामीलाई। सभापतिजीले ठूलो कुरा गर्न पर्दैन। कुन प्रधानमन्त्रीको पालामा कति भ्रष्टाचार भयो सबै थाहा छ हामीलाई।

राणा : त्यतापट्टी नजाऔँ माननीयज्यू!

सुवाल : किन नजाने? किन रोकेको मलाई। (टेबल ठोक्दै)म बोल्दिनँ के। कागजात फालिदिएर कुर्सीबाट उठ्छन्।

राणा : नरिसाउनुस् न, रोकेको होइन। प्लिज टू द पोइन्ट गरिदिनुस् भनेको हो के।

सुवाल : तपाईंलाई घोचेपछि, सरकारले काम गर्न सकेन भनेपछि पोइन्टमा जानुपर्ने? यस्तो हुन्छ।

भिडिओ 

राणा : बस्नुस् माननीय ज्यू बस्नुस्। आफ्नो पोइन्ट राखेर जानुस्। 

सुवाल : सभापतिले पक्षपात गर्न पाइँदैन। यस्तो आइन्दा नगर्नुहोला। म तपाईंहरूको समर्थन गर्न आएको होइन। विरोध गर्न आएको मान्छेलाई किन रोक्नुभयो? तपाईंहरूले युवाजति ८० लाख विदेश पठाउनुभयो। म त बोलिरहेको छु नि, किन रोक्नुभयो? 

राणा : छोटो मात्रै गर्नुस् भनेको हो। 

सुवाल : अरुलाई नभन्ने मलाई मात्रै किन छोटो?

राणा : होइन, लामै राख्नुस्, दिनभर हामी यहाँ नै बस्न आएको हो। 

सुवाल : जनतालाई धोका दिन पाइँदैन, मातहतको काम राम्रोसँग गर्नुस् मन्त्रीज्यु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .