ad ad

राजनीति


प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने : सरकारलाई सही निर्णय लिन मद्दत मिल्ने विश्वास छ

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने : सरकारलाई सही निर्णय लिन मद्दत मिल्ने विश्वास छ

तस्बिर : रासस


नेपालखबर
माघ १५, २०८० सोमबार २१:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल सेयर खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न बनेको समितिले बुझाएको प्रतिवदेनले सरकारलाई सही निर्णय लिन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

सोमबार प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘तपाइँहरुले पक्कै पनि गम्भीर अध्ययन, विश्लेषण गरेर सरकारलाई सही निर्णय लिनको निम्ति मद्दत हुने किसिमले नै ल्याउनुभएको छ भन्ने मलाई विश्वास छ’ उनले भने।
एनसेल प्रकरणबारे सिंगो राष्ट्रको ध्यान गएको र यो आम चासोको विषय भएको प्रधानमन्त्रीले बताए।

‘यो विषय आफैँमा गम्भीर र धेरै सम्वेदनशील विषय हो भन्ने कुरा हामी सबैलाई अनुभूत भएकै छ’ उनले भने, ‘सिङ्गै राष्ट्रले र आम जनताले, सबै राजनीतिक दलहरूले र बुद्धिजीवी सबै सबैले पनि यो एनसेलको सेयर खरिद बिक्री प्रक्रिया के हो र कसरी यो भयो, र अब नेपाल सरकारले बनाएको समितिले कस्तो प्रतिवेदन बुझाउला भनेर निकै चासोको साथ हेरिएको विषय पनि हो। यो स्वभाविक पनि हो।’

प्रधानमन्त्रीले प्रतिवेदन तयार पार्न मिहेनत गरेको भन्दै समितिलाई धन्यवाद पनि दिए।

सरकारले गत मंसिर २१ गते एनसेलको सेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइए पनि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो।

सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद(बिक्रीमा चलखेल गरिएको भन्दै असन्तुष्टि जनाएको सरकारले समिति बनाएको थियो।

मलेसियाली कम्पनी आजियटाले आफ्नो सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको नाममा रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेका थिए। यसलाई लिएर प्रमुख प्रतिपक्षीसहितका दलहरूले आलोचना गरेपछि छानबिन समिति बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .