ad ad

राजनीति


दरबार हत्याकाण्डबारे प्रचण्डले मलाई नसोधी बोले : माधव नेपाल

दरबार हत्याकाण्डबारे प्रचण्डले मलाई नसोधी बोले : माधव नेपाल

नेपालखबर
माघ १८, २०८० बिहिबार १४:५४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

जनकपुरमा बिहीवार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्नेकुरा प्रधानमन्त्रीले विचार नपुर्याई भनेको बताए।

अध्यक्ष नेपालले गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने बताए। उनले तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उनले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्नेकुरा गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो। यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो। हामीसँग पनि सल्लाह भएको छैन। मैसँग पनि सोधे त हुन्थ्यो नि। कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो। के गर्ने माधव बाबु भन्नु हुन्थ्यो। हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ।’

दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुनसक्ने भन्दै उनीसँग बुझ्ने बताए।

उनले थपे, ‘वंश सकिएकाले गर्छन्, बाँकी हुनेले गर्छन् भन्ने अर्थ लाग्छ। तीर त्यतै सोजिन्छ। ओलीजी अलि पछि गृहमन्त्री भइ प्रधानमन्त्री पनि भएकाले उनले धेरै सूचना पाउनुभएको छ की उहाँलाई सोध्नुपर्ला।’

अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .