ad ad

राजनीति


माओवादी स्थायी समिति बैठक आज, नेताहरुको जिम्मेवारी फेरबदलको तयारी

माओवादी स्थायी समिति बैठक आज, नेताहरुको जिम्मेवारी फेरबदलको तयारी

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १०:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। बिहीबार बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ। 

आजको स्थायी समिति बैठकबाट केही पदाधिकारीलाई दिएको जिम्मेवारी फेरबदल गर्ने माओवादीको तयारी छ। सात महिनाअघि माओवादीले उपाध्यक्ष, उपमहासचिव र सचिवहरुलाई संगठनको नेतृत्व दिएको थियो। आज बस्ने बैठकले तिनै नेताहरुको जिम्मेवारी फेरबदल गर्ने माओवादी स्रोतले जनाएको छ।

भदौदेखि पुस १५ सम्म माओवादी रुपान्तरण अभियान चलेको थियो। सो अभियानका बेला पदाधिकारीहरुलाई प्रदेश, पार्टी र प्रवासको जिम्मेवारी दिइएको थियो। 

१० जना पदाधिकारीलाई ७ भूगोल र तीन अन्य गरी १० प्रदेश इन्चार्ज बनाएर खटाएको माओवादीले स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई जिल्लाको इन्चार्ज बनाएर पठाएको थियो।अब त्यसलाई फेरबदल गर्न स्थायी समिति बैठक राखिएको हो। 

उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार बैठकका लागि तीन एजेन्डा तय गरिएका छन्। पहिलो, विधानलाई अन्तिम रुप दिने, दोस्रो, पदाधिकारीको जिम्मेवारी फेरबदल र तेस्रो, अभियानको कार्यतालिका बनाउने। 

माओवादीको १–३ फागुनमा काठमाडौँमा भएको विधान अधिवेशनले कतिपय नयाँ व्यवस्था गर्ने निर्णय गरेको छ।

२२ सदस्यीय पदाधिकारी घटाएर ११ जनाको बनाउनेदेखि केन्द्रीय समिति निर्वाचित हुने र निर्वाचित समितिले पदाधिकारी चयन गर्ने लगायतका व्यवस्था विधानमा गरिएको छ।

‘विधान अधिवेशनमा सहभागीले दिएका सुझाव समेटेर अन्तिम रुप दिइन्छ,’ पोखरेलले भने, ‘प्रदेश इन्चार्जको दिइएको जिम्मेवारी हेरफेर गर्ने निर्णय स्थायी कमिटी बैठकले गर्छ।’

माओवादीले चैत १ गतेदेखि १५ गतेसम्म तराई-मधेश हुलाकी मार्ग अभियान र वैशाख १ गतेदेखि १५ गतेसम्म हिमाल(पहाड(तराई जनजागरण अभियान चलाउँदैछ। अभियानको कार्यतालिका पनि बिहीबार बस्ने स्थायी समिति बैठकले तय गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .