नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशका मुख्य राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेस नै भएको बताएका छन्।
प्रेस चौतारी नेपाल सिन्धुली शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमालले देशमा मूल राजनीतिक प्रतिस्पर्धी शक्ति एमाले र कांग्रेस रहेको बताए।
‘मूल पार्टी एमाले र कांग्रेस मात्रै हुन्, प्रतिस्पर्धा पनि यिनै दलबिच हुने हो’, उनले भने।
दुई पार्टी मध्ये एजेण्डा र दृष्टिकोण बोकेको पार्टी नेकपा एमाले मात्र भएको उनले दाबी गरे।
कांग्रेससँग कुनै एजेण्डा नै नभएको उनले दाबी गरे। ‘कांग्रेस अहिले एजेण्डामा छैन, गठबन्धन गरेनौँ भने चुनाव हार्छौ भन्ने मात्र छ, चुनाव हार्ने र जित्ने एजेण्डाको कुरा होइन, प्रतिस्पर्धाको कुरा हुन्छ’, उनले भने।
कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको रिमालले बताए। त्यसैले कांग्रेस गठबन्धनका पछाडि लागेको उनले तर्क गरे।
रिमालले माओवादीले अहिलेसम्म पार्टीको आकार समेत लिन नसकेको बताए। ‘माओवादीले अहिलेसम्म आकार नै ग्रहण गरेको छैन, प्रचण्डजीको अहिले ३२ सिट छ ९० सिटलाई हल्लाएर खाइराख्नुभएको छ’, उनले भने।
Shares
प्रतिक्रिया