बागमती प्रदेश सभा सञ्चालनका विषयमा छलफलका लागि आज सर्वदलीय बैठक बस्दै छ। आइतबार दिउँसो २ बजेका लागि प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक आव्हान गरेका हुन्।
संसद सञ्चालनदेखि संसद् बैठकको कार्यसूची लगायतका विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए। उनका अनुसार सत्ता पक्ष र प्रतिपक्षबीचमा भएको सहमतीको बिषयमा समेत बैठकमा छलफल हुने छ।
सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्षबीच विगतको विवादको विषयमा छलफल गर्ने योजना छ। सर्वदलीय बैठकमा सरकार र प्रतिपक्ष दलहरू बीचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतिका विषयमा समझदारी बनाउने तयारी गरिएको सरकार पक्षले जनाएको छ।
पछिल्लो समय बागमती प्रदेशमा सरकार र प्रतिपक्षबीचमा टकराब बढ्दो छ। चालु आर्थिक बर्षको बजेट कार्यान्वयनका बिषयमा असन्तुष्ट रहेका प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले गत असारमा गरिएको लिखत सहमती कार्यान्वयन नभए मंगलबारका लागि बोलाइएको संसद बैठक नै चल्न नदिने बताएका छन्।
यता, संसदमा प्रमुख प्रतिपक्षी दलहको भूमिकामा रहेको नेकपा एमाले पनि आज बस्ने सर्वदलीय बैठकले सहमती कार्यान्वयनकै बिषयमा प्राथमिकता दिनेमा ढुक्क देखिएको छ। यदि सो बिषयमा प्रवेश नभए आउँदो मंगलबारका लागि बोलाइएको सदन अवरुद्ध हुने एमाले बागमती प्रदेशका सचेतक मधूसुदन पौडेलले बताए।
‘सर्वदलीय बैठकमा हाम्रो मुख्य एजेन्डा नै लिखित सहमती कार्यान्वयन रहनेछ,’ पौडेलले भने, ‘यदी सरकारले यो बिषयमा छलफल गर्न खोजेन अथवा टार्न खोजियो भने सदन चल्न दिदैनौं।’
तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार उदासिन रहेको प्रतिपक्षी दलहरूको आरोप छ। गत असार १८ गतेको मितिमा प्रदेशका मुख्यमन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, एमाले बागमती संसदीय दलका नेता थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्तलिखित सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
उक्त पत्रमा ‘विपक्षी दलहरूले दिएका कतिपय महत्वपूर्ण योजनाहरू समावेश नभएको भनि विपक्षी दलहरूको तर्फबाट यहि २०८० असार १२ गतेदेखि संसद अवरुद्ध भैरहेकोमा छुट्न पुगेका योजनाहरूलाई समावेश गर्ने र बजेट सुश्चिता तथा समावेशी बनाउने सहमति भएको थियो।
छुटेका योजनाहरू समावेश गर्नका लागि सांसदहरूले सरकार समक्ष योजना बुुझाउने, सरकार समक्ष प्रेसित योजनाहरूलाई बजेट पारित हुनुअगावै मन्त्रिपरिषद् बैठक बसी चालु आर्थिक वर्षको योजनामा समावेश गर्ने निर्णय गर्ने र बागमती प्रदेश सभाको सदनलाई लोकतान्त्रिक र सद्भावना युक्त रुपमा सञ्चालन गर्न सबै पक्षले सहकार्य गर्ने भनि सहमति भएको पत्रमा उल्लेख छ।
Shares
प्रतिक्रिया