ad ad

राजनीति


संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी विवाद समाधान हुन्छ : प्रधानमन्त्री

संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी विवाद समाधान हुन्छ : प्रधानमन्त्री

नेपालखबर
फागुन १४, २०८० सोमबार १३:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पलकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधानका लागि आज ध्यानाकर्षण गराउन पुगेको दाङको सर्वदलीयरसर्वपक्षीय टोलीसँग प्रधानमन्त्रीले आवश्यक अध्ययन गरेर यससम्बन्धी समस्या समाधान गर्ने बताएका हुन्।

विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदबाट आवश्यक निर्णय गरेर वा आफूले कूलपतिको तर्फबाट निर्णय गरेर समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले जतिसक्यो चाँडो उचित निकास निकाल्ने बताए।

दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयको एक हजार चार सय  विघा जग्गा छ। सो जग्गाबाट विश्वविद्यालयले आयस्रोत लिन सकिरहेको छैन भने जोतभोग गरिरहेका किसान पनि मोही दर्ताबाट वञ्चित हुँदै आएका छन्।

विश्वविद्यालयको आयस्रोतको बाटो खुलाउने र जोताहा किसानको अधिकार पनि सुनिश्चित गर्ने गरी समस्या समाधानका लागि नीतिगत निर्णय गर्न सर्वपक्षीय टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। टोलीले उच्चस्तरीय अध्ययन समिति गठन गरेर काम अघि बढाउन माग गरेको छ। 

सर्वपक्षीय टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरी, नेपाली कांग्रेस राष्ट्रियसभा दलका प्रमुख सचेतक अनिता देवकोटा, प्रतिनिधिसभा सदस्यहरु मेनका पोख्रेल, नारायणी शर्मा र आश्मकुमारी चौधरी, नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा पूर्व सदस्य सुजिता शाक्य, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्य हेमराज शर्मा र जिल्ला सचिव विश्वराज आचार्य, एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, जग्गादाता कुमुद पोख्रेललगायत सहभागी थिए।

विश्वविद्यालयका उपकूलपति प्राडा यादवप्रसाद लामिछाने, रजिष्ट्रार माधव अधिकारीसहितका पदाधिकारी पनि कार्यक्रममा उपस्थित थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .