ad ad

राजनीति


राजेन्द्र महतोले छाडे लोसपा, छुट्टै अभियान चलाएर नयाँ पार्टी बनाउने घोषणा

राजेन्द्र महतोले छाडे लोसपा, छुट्टै अभियान चलाएर नयाँ पार्टी बनाउने घोषणा

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८० सोमबार १४:१७, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी उनले लोसपा छाडेको घोषणा गरेका हुन्। लामो समयदेखि अध्यक्ष ठाकुरसँग असन्तुष्ट उनको समूहले अब नयाँ अभियान चलाउने भएको छ।

ठाकुर नेतृत्वको पार्टी छाडेपछि महतोले  ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका छन्। अहिलेको नेपाल राज्य एकल जातीय रहेको टिप्पणी गर्दै अब आफूले बहुल राष्ट्रिय राज्य बनाउने दाबी पनि उनले गरे। 

अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उनले बताएका छन्। 

'अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव छैन। तसर्थ, विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठेर, औपनिवेशिक चिन्तन, सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ', उनले भनेका छन्, 'नवीन युगको नवीन नेपाल निर्माणका निम्ति युगीन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सादर आह्वान गर्दछु।'

महतोले संविधान जारी भएपछि ६ महिना मधेशी जनताले संघर्ष गर्दा पनि हार्नुपरेको बताएका छन्। 

त्यहीकारण देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलन जरूरी भएको उनले बताएका छन्। त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरिएको उनले बताए।

‘संविधान निर्माणका क्रममा भएको ऐतिहासिक मधेश-थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, सम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुष्मन देशका दुष्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे,’ उनले भनेका छन्, ‘तर दुःखद् कुरा मधेस-थरूहटका जनताको हार भयो र आन्दोलन तुहियो।’ 

पछिल्लो समय भएका लिम्बुवानलगायत आदिवासी जनजातिको पहिचानवादी आन्दोलन पनि सफल हुन नसकेको उनले सुनाए। यी सबै आन्दोलन एकल नश्लीय शासन व्यवस्थाविरूद्ध भएका उनको जिकिर छ।

‘आफ्नै आन्दोलन पनि एकल आयामिक थियो। एकल अयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरू भएको आन्दोलन अधुरो रहन गयो। शासन पनि एकल नश्लीय त्यसविरुद्धको आन्दोलन पनि एकल आयामिक भयो', उनले भनेका छन्, 'त्यसैले त जनताले चाहेको जस्तो राजनीति हुन सकेन, देश बन्न पनि सकेन। अब गहिरो संकथन र थप परिमार्जन गरी आन्दोलन बहुआयामिक हुनु जरुरी भएको छ।’

उनले सुरुमा यो अभियान विस्तार गरेर नयाँ पार्टी बनाउने योजना ल्याएका छन्। नयाँ पार्टी निर्माणपछि लोसपा, जसपालगायत मधेशवादी दल तथा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरूसँग सहकार्य हुन सक्ने पनि महतोले बताएका छन्। 

ठाकुरको नेतृत्वमा लोसपाले गति लिन नसकेको बताएका उनले यसअघि नै नयाँ पार्टी खोल्ने तयारी गरेका थिए।

लोसपा अध्यक्ष ठाकुरको आलोचना गर्दै उनी केही महिनाअघि भारत यात्रा गरेर फर्किएका थिए। त्यसपछि उनी नयाँ पार्टी निर्माण अभियानमा थिए। ठाकुरले आफूखुसी पार्टीमा अजंगको केन्द्रीय कमिटी बनाएकोमा उनी सन्तुष्ट थिएनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .