आगामी निर्वाचनमा गठबन्धन त्यागेर कांग्रेस एक्लै लड्ने गरी महासमिति बैठकबाट पास भएको महामन्त्री गगनकुमार थापाको प्रस्तावले नेकपा माओवादी केन्द्रमा तरंग ल्याएको छ।
कांग्रेस महासमितिबाट पारित भइसकेको महामन्त्री थापाको उक्त प्रस्तावबारेमा मंगलबार बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले कुरा उठाएका छन्।
‘गठबन्धन छाडेर एक्लै चुनाव लड्ने कांग्रेस महामन्त्री गगनको प्रस्तावलाई लिएर माओवादी बैठकमा गम्भीरतापूर्वक कुरा उठेको छ। मंगलबार बोल्ने स्थायी समिति सदस्यहरूले यसबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ’, एक नेताले नेपालखबरसँग भने, ‘नेताहरूले कुरा उठाएपछि माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले पनि आफूले यो कुरा गम्भीर रुपमा लिएको बताउनु भएको छ।’
गगनको उक्त प्रस्तावलाई लिएर स्थायी समिति सदस्यहरूले गम्भीर रूपमा कुरा उठाएपछि अध्यक्ष प्रचण्डले यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गर्ने आश्वासन दिएका छन्।
‘गगनको उक्त प्रस्तावको विषयमा अध्यक्षले कांग्रेस सभापति देउवासँग पनि कुरा गर्ने बताउनु भएको छ’, ती नेताले नेपालखबरसँग भने, ‘महामन्त्री थापाको उक्त प्रस्ताव गम्भीर छ। त्यसैले यसबारेमा नेतृत्वले बेलैमा कुरा गर्नुपर्छ भन्ने भएको छ।’
बैठकमा यही फागुन २९ गते हुन लागेको राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले कुनै हालतमा दाबी छाड्न नहुने कुरा पनि नेताहरूले उठाएका छन्। सबै संवैधानिक पद अरु दलले लगेको अवस्थामा माओवादीले राष्ट्रिय सभा अध्यक्षको पद छाड्न नहुने कुरा बैठकमा राखेका हुन्।
‘अध्यक्षले पनि यसका लागि सक्दो प्रयास गर्छु भन्ने बचन बैठकमा दिनु भएको छ’, ती नेताले भने, ‘गगनको प्रस्ताव र राष्ट्रिय सभा अध्यक्षको पदबारेमा कांग्रेससँग तत्कालै कुरा गर्न हामीले सुझाएका छौँ।’
माओवादी नेताहरूले कांग्रेस महासमिति बैठकमै जनयुद्धविरुद्ध बोलेको र हिन्दु राष्ट्रको पक्षमा अभियान थालिएको कुरा संविधानको मर्म र भावनाविपरीत रहेको बताएका थिए।
बैठकमा गठबन्धनमा हुँदा पनि कांग्रेसले आफूहरूलाई पटक पटक धोका दिएको पनि गुनासो पोखे। उनीहरूले पटक पटक धोका पाए पनि आफूहरू गठबन्धनप्रति इमान्दार रहेको कुरा पनि बैठकमा राखे। तर नेताहरू राष्ट्रिय सभा निर्वाचनसहित कांग्रेसले पटक पटक धोका दिएर अप्ठेरोमा पारेकाले यसबारे नेतृत्वसँग कुरा गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन्।
Shares
प्रतिक्रिया