ad ad

राजनीति


विज्ञान तथा प्रविधि विश्वविद्यालयः सोच एउटा, विधेयक अर्कै

विज्ञान तथा प्रविधि विश्वविद्यालयः सोच एउटा, विधेयक अर्कै

नेपालखबर
माघ २९, २०७६ बुधबार १०:३८,

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक आउन नसकेको सांसदहरुले बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले विश्वविद्यालयको सोच र विधेयकमा फरक परेको बताएका हुन्। सांसद गगनकुमार थापाले विज्ञान तथा प्रविधि सम्बन्धी विश्वविद्यालयमा सबै विषयको अध्ययन हुन सक्ने भएपनि विधेयक अनुसार अहिले रहेका विश्वविद्यालय र यो विश्वविद्यालयमा कुनै फरक नभएको बताए। उनले फरक सोच अनुसार स्थापना गर्न लागिएको विश्वविद्यालयको विशेष केही हुनुपर्नेमा विधेयकमा त्यस्तो केही नभएको बताए।

सांसद मानबहादुर विश्वकर्माले विज्ञान र प्रविधि विश्वविद्यालय भित्र मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून र न्याय पढाई हुने व्यवस्था गरिएको भन्दै त्यसलाई हटाउनुपर्ने बताए। उनले अहिलेको समय स्पेसेलाइजेसनको समय भएकाले विज्ञान र प्रविधिको विषयमा मात्र केन्द्रित भएर विधेयक ल्याउनुपर्ने बताए।
सांसद खगराज अधिकारीले फेरिपनि मानविकी, कानून, व्यवस्थापन लगायतका विषय हुने तर कृषि तथा प्रविधिको कुरा नआउने देखिएको भन्दै विधेयकमाथि गहन छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले नेपाल भित्र उत्पादन हुने वस्तुहरुको पेटेन्ट राइट अन्य देशले लिइसकेको उल्लेख गर्दै विश्व विद्यालयलाई स्थानीय उत्पादनसँग जोडेर जानुपर्ने बताए।

सांसद विद्या भट्टराईले अहिलेपनि नेपालमा प्रकृतिक विज्ञानलाई मात्र विज्ञान बुझ्ने सामाजिक र सांस्कृतिक विज्ञानलाई विज्ञान नमान्ने प्रवृति रहेको भन्दै विज्ञानभित्र सबै विषयको अध्ययन हुनुपर्ने बताइन्। उनले नेपाली समाजलाई समृद्ध बनाउने हो भने विश्वविद्यालयलाई विकल्पको रुपमा ल्याउनुपर्ने भन्दा पनि प्रतिस्प्रधि बनाउनुपर्नेमा जोड दिइन्। उनले विश्वविद्यालयलाई वस्तुको पेटेन्ट राइटको विकास गर्ने गरी मात्र नभएर नेपालको संस्कृति र परम्पराका विषयमा पनि अध्ययन अनुसन्धान गरी पेटेन्ट राइन सुरक्षित गर्नेगरी विकास गर्नुपर्ने बताइन्।

सांसद उमाकान्त चौधरीले विज्ञान र प्रविधिमा अगाडि बढ्न नसकेसम्म देशको आर्थिक समृद्धि नहुने उल्लेख गर्दैं नयाँ सोचसहित विश्वविद्यालयको परिकल्पना गरिएपनि पुरानै विषयको अध्यापन गराउने उद्देश्य राख्नुले अन्य विश्वविद्यालयसँग खासै तात्विक फरक नदेखिएको बताए। उनले पनि सरकारको सोच अनुसारको विधेयक आउन नसकेको बताए।

सांसदहरुको प्रश्नको जवाफ दिदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको मूल फोकस साइन्स र टेक्नोलोजिमा नै भएको तर अन्य विषयहरुमाथिको अनुसन्धानलाई पनि समावेश गरेर जानसक्ने किसिमको परिकल्पना गरिएको बताए। उनले यो विषयमा छलफल गरेर अगाडि बढ्न सकिने समेत बताए। उनले देशको समृद्धिको लागि जनशक्ति तयार गर्न र प्रविधिको विकास गर्न यो विश्वविद्यालयको आवश्यकता रहेको बताए। विश्व स्तरको विशिष्ट विश्वविद्यालय निर्माण गर्न खोजिएकाले विश्वका ठुला विश्वविद्यालयले अपनाएका नीतिहरु अपनाउन लागिएको समेत बताए।

मन्त्री पोखरेलले विश्वविद्यालयले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडने भएकाले यो अन्य विश्वविद्यालय भन्दा फरक रहेको बताए। उनले २ वर्ष भित्रमा पठनपाठन सुरु गर्ने उद्देश्यले विधेयक निर्माणको प्रकृयामा हुँदै गर्दापनि गठन आदेशबाट कार्यान्वयनलाई अगाडि बढाईसकेको बताए। उनले यो विश्वविद्यालय आर्थिक रुपमा पनि आफैमा निर्भर रहने गरी लगानी र उत्पादनलाई जोडिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .