सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) भित्र जिम्मेवारी बाँडफाँटको विषयले असन्तुष्टि बढेको छ।
प्रदेश इन्चार्ज फेरबदल हुँदा आफ्नो जिम्मेवारी खोसिएको भन्दै स्थायी समिति सदस्य जनार्दन शर्माले असहमति जनाएलगत्तै अर्का स्थायी समिति सदस्य खगराज भट्टलेसमेत असन्तुष्टि जनाएका छन्।
भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ।’
केही समयअघिसम्म सुदूरपश्चिमको इन्चार्ज रहेका नेता भट्टलाई इन्चार्जबाट हटाइएको थियो भने हालै उनलाई प्रदेश संसदीय दलको नेताबाट समेत हटाइएको छ।
भट्टलाई जिम्मेवारीविहीन बनाइएकोप्रति नेता शर्मालेसमेत आपत्ति प्रकट गरेका छन्।
प्रदेश इन्चार्ज फेरबदल गर्ने स्थायी समितिको निर्णयप्रति लिखित असहमति जाहेर गर्दै उनले लेखेका छन्।
भट्टलाई प्रदेश दलको नेता र इन्चार्ज दुवैबाट पदच्युत गरिएकोमा पनि उनले आपत्ति प्रकट गरेका छन्।
शर्माले सेती-महाकालीमा अध्यक्ष प्रचण्डकै संलग्नतामा गरिएका गतिविधिले त्यहाँ कयौँ नेताहरूलाई पाखा लगाउने काम भएको आरोप लगाएका छन्।
‘अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्षसमेतको संलग्नतामा गरिएका गतिविधिहरूका आधारमा दर्जनभन्दा बढी कमरेडहरूलाई बेवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ’, शर्माले भनेका छन्, ‘उक्त प्रदेशमा बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती–महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भीर छ।’
शर्माले खगराज भट्टराई सबै जिम्मेवारीबाट मुक्त गरेर राजनीतिक रुपमै विस्थापित गर्ने खेल भइरहेको पनि बताएका छन्।
‘खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु’, उनले भनेका छन्, ‘मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको छु। तर यसभित्रको अन्तर्निहीत उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारीसमेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौँला भन्दै टारिएको अवस्था जगजाहेर छ।’
ती कुराप्रति सकारात्मक रहेकालाई जिम्मेवारीविहीन बनाउनुले नेतृत्वको मनसाय स्पष्ट भएको पनि उनले बताएका छन्।
- १० प्रदेश इन्चार्ज तोक्ने माओवादी केन्द्रको निर्णयप्रति जनार्दन शर्माको यस्तो असहमति (पत्रसहित)
- माओवादीमा जनार्दनको गम्भीर असहमति : प्रचण्डका भाइ र बुहारीको जिम्मेवारीबारे उठाए प्रश्न
Shares
प्रतिक्रिया