तराई-मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको भन्दै सांसद तुलसा कुमारी दाहालले सरकारको ध्यानाकर्षण गराएकी छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद् जगप्रसाद शर्माले विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। उनले बजेट खर्च नहुने समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।
सांसद तारामान स्वाँरले सुदूरपश्चिमको विकास र अर्थतन्त्रको मेदरुदण्डमा रहेका सेती र महाकाली लोकमार्ग निर्माणलाई तीव्र बनाउन तथा आगामी आवका लागि बजेटको सुनिश्चित गर्न माग गरे। सांसद भगवती न्यौपानेले भानुभक्तको जन्मस्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आग्रह गरिन्।
सांसद बिमला घिमिरेले मिटरव्याज पीडित तथा किसानका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद सुमित्रा विसीले जाजरकोटका भूकम्पपीडित पालभित्र बस्न बाध्य रहेको उल्लेख गर्दै तत्काल आवास पुनःनिर्माणको प्रक्रिया अघि बढाउन आग्रह गरिन्। रासस
Shares
प्रतिक्रिया