‘घुमौँ भरतपुर’ भन्ने नारासहित शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन हुँदैछ।
भरतपुर महानगरपालिकाको आयोजनामा नारायणी किनारमा हुन लागेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित पाँचजना पूर्वप्रधानमन्त्रीलाई निम्तो गरिएको छ।
भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नै चितवन जाँदै छन्।
प्रचण्ड पुत्री रेनु दाहाल मेयर रहेको भरतपुर महानगरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँचजना पूर्वप्रधानमन्त्रीलाई निम्तो दिएको छ।
यसअघि ओली प्रधानमन्त्री हुँदा भरतपुरमै सिटी हल र ६ लेनको सडक शिलान्यास गर्न गएका थिए। तर त्यसबेला मेयर रेनुले उक्त कार्यक्रममा सहभागिता जनाएकी थिइनन्।
तर भरतपुर भ्रमण वर्षको उद्घाटनमा रेनुले ओलीलाई पनि निम्तो दिएकी छन्। रेनुको निम्तो स्वीकार्दै ओली पनि चितवन जाने भएका छन्।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच संवाद तीव्र भएको छ। सत्ता गठबन्धनको कांग्रेससँग माओवादीको सम्बन्ध चिसिँदै गएका बेला रेनुले ओलीलाई पनि भ्रमण वर्षको निम्तो दिएकी हुन्।
रेनुको निम्तो मान्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि शुक्रबार नै भरतपुर पुग्दैछन्।
भरतपुर महानगरपालिकाका सञ्चारविज्ञ सुरेशचन्द्र अधिकारीका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै चितवन पुग्दैछन्।
उनीहरू सबैलाई भरतपुर महानगरले पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्ता दिएको हो। तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी पठाएका छन्।
नारायणी किनारमा हुने भ्रमण वर्ष उद्घाटन कार्यक्रममा ५० हजारलाई सहभागी गराउने तयारी भएको छ। उद्घाटनपहिले चौबिसकोठीबाट नारायणी किनारसम्म र्याली निकाल्ने तयारी थालिएको छ।
भ्रमण वर्ष उद्घाटनका लागि भरतपुर महानगरले पाँच पूर्वप्रधानमन्त्रीहरूसहित देशका अन्य उच्च पदस्थलाई पनि बोलाएको छ। भ्रमण वर्षका क्रममा भरतपुरले ५ लाख आन्तरिक र २ लाख विदेशी पर्यटक ल्याउने योजना बनाएको छ।
Shares
प्रतिक्रिया