प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरलाई सुदूरपश्चिम सह–इन्चार्ज बनाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।
स्थायी समिति सदस्य खगराज भट्टलाई किनारा लगाउँदै केन्द्रीय सदस्य मगरलाई सह–इन्चार्ज बनाएपछि माओवादी सुदूरपश्चिम पङ्क्ति तरंगित भएको हो।
बिनालाई सह–इन्चार्ज बनाउने स्थायी समिति बैठकको निर्णयमा आपत्ति जनाउँदै खगराजले त्यसलाई सुदूरपश्चिममा पार्टी र आफ्नो राजनीतिक जीवन समाप्त पार्ने डिजाइन भनेका छन्।
उता उपमहासचिव जनार्दन शर्माले प्रचण्डकै संलग्नता खगराजलाई विस्थापित गरेर बिनालाई स्थापित गर्न खोजिएको भन्दै आपत्ति जनाइसकेका छन्।
खगराजले अध्यक्ष प्रचण्डलाई असहमति पत्र पठाइसकेका छन्। सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एक्ला स्थायी समिति सदस्य भट्टलाई पार्टीमा किनाराकृत गरिएपछि सुदूरपश्चिममा उनीनिकट नेता कार्यकर्ता असन्तुष्ट छन्।
यसअघि भट्टलाई बहुमत सांसदले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट हटाएका थिए। भट्टलाई हटाएर उनी इतर सांसदले दार्चुलाका मानबहादुर धामीलाई नेता चयन गरेका थिए।
‘उहाँ (खगराज) सिनियर नेता हो। कुनै जिम्मेवारीमा नहुँदा अवश्य पनि पार्टीलाई असर पर्छ’, माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले भने, ‘हेडक्वार्टरले उहाँ जस्तो सिनियर नेताको मूल्याङ्कन गरेर जिम्मेवारी दिनु पर्थ्यो।’
माओवादीमा किनाराकृत हुँदै गएका खगराजले पार्टी छोड्न सक्नेसम्मको चर्चा भइरहेको छ। तर उनीनिकट नेताहरु भने अहिले नै त्यस्तो निष्कर्षमा नपुगेको बताउँछन्।
‘कुनै न कुनै जिम्मेवारी दिनुपर्थ्यो। तर त्यस्तो भएन। पार्टी छोड्ने निष्कर्षम पुग्नु भएको छैन’, ती नेताले भने, ‘एउटा विषम परिस्थिति आएपछि अब कसरी प्रस्तुत हुने भनेर छलफलमा हुनुहुन्छ।’
आन्तरिक संघर्ष भएकाले खगराजले पार्टी परित्याग गर्ने निर्णय नलिने माओवादी सुदूरपश्चिम सचिव बुढा बताउँछन्।
‘पार्टीभित्र आन्तरिक विमति हुन्छन्। पार्टीको राजनीतिक जीवनमा आन्तरिक संघर्ष भइरहन्छन्’, उनले भने, ‘छलफलका माध्यमबाट समाधान खोजिन्छ। उहाँले पार्टी छोड्नु हुन्न।’
जनयुद्धदेखि नै खगराज माओवादीमा सक्रिय भएका थिए। एमाले सचिव लेखराज भट्टले माओवादीमा हुँदा प्रचण्डसँग नजिकिएर सधैँ खगराजलाई पेलानमा पारे पनि माओवादी छोडेनन्।
डा. बाबुराम भट्टराई माओवादीमा हुँदा खगराज उनीनिकट थिए। माओवादीमा अहिले खगराज उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन्।
लेखराज सुदूरपश्चिम इन्चार्ज हुँदा खगराज सह–इन्चार्ज थिए। लेखराज एमाले बनेपछि खगराज माओवादी सुदूरपश्चिम इन्चार्ज बने। शक्तिमा रहँदा खगराजले पनि आफ्नो गुट चलाएर इतर समूहलाई पेल्ने गरेका थिए।
तर, उनको इन्चार्ज पद गत साउनमा खोसियो। माओवादीले चलाएको ‘गाउँ फर्क अभियान’का क्रममा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी जनमोर्चाबाट आएका डिलाराम आचार्यलाई दिइएको थियो।
मुख्यमन्त्रीको आश्वासनसहित डडेल्धुरामा शेरबहादुर देउवाको जित सहज गर्न प्रदेश झारिएका खगराजलाई माओवादीका बहुमत सांसदले दल नेताबाट पनि हटाए।
त्यसपछि अध्यक्ष प्रचण्डलाई भेट्न काठमाडौँ गएका बेला सुदूरपश्चिमका सांसदहरुलाई आफ्नो निर्देशनविपरीत खगराज दल नेताबाट हटाएकोले अन्याय हुन नदिने प्रचण्डले प्रतिबद्धता जनाए।
तर प्रचण्डले स्थायी समिति बैठकमा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा मानबहादुर धामीलाई वैधानिकता दिए। बरु अझै खगराज भट्टलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने प्रस्ताव गरे।
मुख्यमन्त्रीको ‘कार्ड’ फ्याकेर प्रचण्डले अल्झाएर आफूलाई किनारकृत पार्न खोजेको भन्दै खगराज विरोधमा उत्रिए।
‘हामीसँग दलको नेताबाट हटाएर अन्याय भयो भने पनि स्थायी समितिको बैठकमा उहाँले मानबहादुर धामीलाई वैधानिकता दिनुभयो’, खगराजनिकट एक नेताले भने, ‘अध्यक्ष कमरेडकै निर्देशनमा सांसदहरुले दल नेताबाट हटाएको प्रष्ट हुन्छ। दल नेता अर्कोलाई बनाउने र मुख्यमन्त्री बनाउँछु भनेर अध्यक्षज्यूले चलाखी गर्न खोज्नुभयो।’
त्यसो त नेताबाट हटेपछि खगराज र माओवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीले बिना मगरलाई सुदूरपश्चिम इन्चार्ज बनाउन प्रचण्डसम्म लबिङ गरेको नेताहरुको दाबी छ।
बिनालाई इन्चार्ज बनाउने र संसदीय दलको नेतामा खगराजको पुनबर्हालीका लागि उनीहरुको सहमति भएको थियो।
प्रचण्डनिकट नेताहरुका अनुसार त्यही समझदारीपछि खगराज, प्रदेश अध्यक्ष चौधरीसहितले बिनालाई इन्चार्ज बनाउन अध्यक्ष दाहालसमक्ष प्रस्ताव गरेका थिए। यद्यपि खगराज निकट नेताहरु भने बिनासँग त्यस्तो कुनै सहमति नभएको जिकिर गर्छन्।
अध्यक्ष प्रचण्डले संसदीय दलको नेतामा धामीलाई वैधानिकता दिएपछि खगराज कड्किएका हुन्।
‘उहाँमा नेतृत्वमा हुनु पर्ने स्थिरता देखिएन। हिजो इन्चार्जका लागि सिफारिस गर्नुभयो। आज विरोध गरेर अध्यक्षलाई गाली गर्दै हिँड्नु भएको छ,’ माओवादी सुदूरपश्चिम सांसद ओमविक्रम भाट भन्छन्, ‘यो निर्णय गलत हो भने सिफारिस गर्ने तपाईँ गलत होइन? आफ्नो स्वार्थ मिल्दा सबै ठिक, नत्र सबै गलत भन्ने हुँदैन।’
Shares
प्रतिक्रिया