नेकपा (एमाले) का सांसद सूर्य थापाले लुम्बिनी प्रदेश सरकारले गर्न लागेको 'बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलन'मा विवादास्पद धर्मगुरु दलाई लामालाई बोलाइएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकलाई सम्बोधनका क्रममा उनले नोबेल शान्ति पुरस्कार विजेताहरू सहभागी हुने कार्यक्रममा विवादास्पद व्यक्तिलाई बोलाएर कस्तो सन्देश दिन खोजेको हो? भन्दै सरकारसँग प्रश्न गरे।
सांसद थापाले परराष्ट्र मन्त्री एनपी साउदले यसबारेमा जवाफ दिनुपर्ने भन्दे ध्यानाकार्षण गराएका छन्।
‘प्रदेश सरकारले लुम्बिनीमा नोबेल पुरस्कार विजेताहरूको अन्तर्राष्ट्रिय सम्मेलन भनेर मार्च ११ र १२ गते कार्यक्रम गर्ने भनेको थियो। त्यो सम्मेलनमा दलाई लामालाई बोलाएको सुनेका छौँ', उनले भने, 'तिब्बतमा विद्रोह गरेको दिन भन्दै १० देखि थाल्ने भनिएको थियो। त्यसलाई केही सच्याइएको छ। दलाई लामालाई बोलाएर लुम्बिनीमा कस्तो सम्मेलन गर्न सहमति भएको हो परराष्ट्र मन्त्रालय? जवाफ चाहियो।’
उक्त कार्यक्रममा दलाई लामालाई बोलाएर नेपाललाई विवादित बनाउन खोजिएको थापाले बताए।
लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलन गर्दै छ।
उक्त सम्मेलनलाई ‘लरिएट्स एन्ड लिडर्स’ नाम राखिएको छ। सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेतासहित उच्च पदस्थ विदेशीहरू सहभागी हुने बताइएको छ।
दलाई लामालाई पनि सहभागी गराउने जानकारी आएपछि यसअघि नै चीन सरकारले सरकारसँग आपत्ति प्रकट गरिसकेको छ।
Shares
प्रतिक्रिया