नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यव्यस्तता हुँदाहुँदै पनि निम्तो अस्वीकार गर्न नसकेर भरतपुर पुगेको बताएका छन्।
शुक्रबार भरतपुर महानगरपालिकाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भरतपुरमा शुभकामना दिन पाउँदा खुसी भएको बताए।
‘यहाँ निम्तालाई अस्वीकार गर्न नसकेर निम्ता मान्न मात्रै आएको हुँ। यहाँलाई शुभकामना दिन मेरो लागि पनि अवसर हो,’ ओलीले भने, ‘यहाँको विकासमा म र मेरो पार्टी सहयोगी हुन तत्पर छ। व्यक्तिगत तवरमा पनि यस ठाउँको विकासका लागि केही गर्नपर्छ भने म तयार छु।’
उनले भरतपुरमा आफ्नो प्रधानमन्त्रीत्वको कार्यकालमा पनि केही काम भएको बताए। ‘केही काम यस ठाउँमा आफ्नो प्रधानमन्त्रीत्वकालमा पनि भए। यस ठाउँको प्रगती तिव्र गतिमा हुन सक्छ,’ ओलीले भने।
एक वर्षभित्रै परिवारसहित भरतपुर भ्रमण गर्छु
ओलीले एक वर्षभित्र स–परिवार चितवन घुम्न जाने बताएका छन्।
‘भरतपुर महानगर लगायत चितवनको एक वर्षभित्र व्यापक रुपमा भ्रमण गर्ने सोच बनाएको छु,’ ओलीले भने।
साथै, उनले अरुलाई पनि चितवन र भरतपुरको भ्रमणका लागि आह्वान गरे। ‘अरुलाई पनि म आह्वान गर्न चाहन्छु, भरतपूर आउनुस्, भरतपुरको आनन्द लिनुस्,’ ओलीले भने।
उनले भरतपुरलाई रमाइलो जिन्दगी बिताउने ठाउँ भएको पनि बताए। ‘यहाँ त रमाइलोसँग जीन्दगी बिताउने ठाउँ हो,’ ओलीले भने।
Shares
प्रतिक्रिया