ad ad

राजनीति


यी तीनजना मन्त्रीले आजै शपथ लिने, अरुको कहिले?

यी तीनजना मन्त्रीले आजै शपथ लिने, अरुको कहिले?

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १३:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।

कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार नै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन्। 

जस अनुसार नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा पुर्‍याएर फर्किएका छन्।

सोमबार बिहानभर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डल राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए। 

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्यालको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम बुझाएर फर्किएका प्रधानमन्त्री प्रचण्ड नयाँ गठबन्धनका दलहरूबीच लिखित सहमतिको तयारी अघि बढाएका छन्। 

प्रधानमन्त्री प्रचण्डले आजै साँझ नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी रहेको स्रोतले जानकारी दियो। 

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट रवि लामिछानेको नाम पनि मन्त्री बन्ने लगभग निश्चित छ। 

तर, उनीहरूको शपथ भने आज नहुने भएको छ। ‘आजै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन हुन्छ, तीनजनाले आज शपथ लिनुहुन्छ,’ स्रोतले भन्यो, छअन्य मन्त्रीहरूको शपथ दलहरूबीचको सहमतिपछि मात्रै टुंगिन्छ।’

तामाङ नुवाकोट–१ बाट प्रतिनिधिसभा निर्वाचन जितेर संघीय संसद्मा प्रवेश गरेका थिए।

त्यस्तै, गिरी पर्वतबाट प्रतिनिधिसभा निर्वाचित सांसद हुन भने अर्याल रास्वपाका समानुपातिकतर्फका सांसद हुन्।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गत ल्होछारमा टुँडिखेलमा आयोजित कार्यक्रममा बागमतीबाटै तामाङ समुदायको मन्त्री बनाउने वाचा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .