नेकपा एमालेको नेतृत्वमा २०७९ पुस १० गते बनेको गठबन्धन करिब १४ महिनापछि फेरि फर्किएको छ।
२०७९ मंसिरको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्र एमालेसँग मिलेपछि तत्कालीन अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए।
तर उक्त सत्ता गठबन्धन राष्ट्रपतिको चुनावसम्म आइपुग्दा भताभुंग भएर कांग्रेस सत्तामा गएको थियो।
माओवादी केन्द्रका अध्यक्ष दाहाललाई २०७९ पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको सत्ता गठबन्धन दुई महिना नबित्दै भत्किएको थियो।
प्रतिपक्षमा पुगेको करिब ९ महिनापछि फेरि एमाले सत्तामा फर्किएको छ। यो सत्ताको खेलका क्रममा सोमबार साँझ चार दलले ८ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।
तर, पुस १० को उक्त गठबन्धनका केही सदस्य दलहरू भने यस पटक अटाउन सकेनन्। यद्यपि एमाले र माओवादीका नेताहरूले बाँकी दलसँग पनि वार्ता गरेर समेट्ने बताएका छन्।
सोमबार राति मात्रै कांग्रेससहित गठबन्धन सरकारको सदस्य एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउन प्रचण्ड कोटेश्वर पुगे। यसअघि नै माओवादीले सोमबार दिउँसोको सचिवालय बैठकबाट समाजवादीलाई फकाएर समेट्ने निर्णय गरिसकेको छ।
त्यसबेला उक्त गठबन्धनमा प्रतिनिधिसभाका राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी भएका थिए।
त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा जुटाएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी अहिले अटाएनन्।
अहिले सार्वजनिक ८ बुँदे समझदारीमा चारवटा दलका नेताको मात्रै हस्ताक्षर छ। उपेन्द्र यादव नेतृत्वको जसपा सत्ता गठबन्धनमा अटाउँदा डा. सीके राउतको जनमत बाहिरै रह्यो। तराई-मधेशमा जनमत र जसपाको टकरावपूर्ण प्रतिस्पर्धा छ।
त्यस्तै त्यसबेला उपप्रधानमन्त्रीसहित सरकारमा गएको राप्रपा पनि यस पटक समेटिएको छैन। उता नागरिक उन्मुक्ति पनि बाहिरै परेको छ। महन्थ ठाकुर नेतृत्वको लोसपा पनि गठबन्धनमा अटाएको छैन।
यस्तोमा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले मात्रै ८ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।
२०७९ पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारी भएको थियो।
तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि कांग्रेस नेतृत्वको माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँतिएपछि एमाले त्यसबेला जिल्लियो।
अहिले पनि भएको आठ बुँदे सहमतिमा माओवादीले राष्ट्रिय सभा अध्यक्ष लिने भएको छ। त्यस्तै एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष लिने भएको छ।
अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल छिन्। एमालेबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनको कार्यालय यही २० गते सकिएपछि आगामी २० गते निर्वाचन हुँदैछ।
Shares
प्रतिक्रिया