नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार परिवर्तन हुँदैमा आत्तिन जरुरी नभएको बताएका छन्।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले यस्तो बताएका हुन्।
‘सरकार परिवर्तनबाट कांग्रेस आत्तिनुपर्ने केही छैन’, उनले भने, ‘हामीले राणाशासनविरुद्ध एक्लै लड्यौँ। हामीलाई विभिन्न दलले प्रथम दुष्मन घोषणा गरेकै हो।’
अहिले सरकार परिवर्तन र गठबन्धन टुटेर कुनै पनि किसिमले कांग्रेस नआत्तिएको उनले बताए। ‘आत्तिनपर्ने आवश्यकता पनि छैन। यो हाम्रा लागि बरदान हुनसक्छ’, उनले भने, ‘समग्र रुपले कसरी पार्टी र कार्यकर्तालाई लिएर जाने भन्ने विषयमा हामीले कुरा गर्यौँ।’
उनले गठबन्धनमा सूचना सम्प्रेषण गर्ने कुरामा अलिकति कमजोरी भयो कि भन्ने समीक्षा बैठकमा भएको बताए। ‘०७४ साल, गत वर्ष पुस १० र अहिले पनि हामीले एकै नियति भोग्नुपरेको छ’, उनले भने, ‘जसले सूचनामा कमजोरी हो कि भन्ने कुरा भएको छ।’
उनले आफूहरू हामी रचनात्मक प्रतिपक्षमा बस्ने बताए। ‘जे गर्छौँ, लोकतान्त्रिक ढंगबाट प्रभावकारी भूमिका निर्वाह गर्छौँ’, केसीले भने।
केसीले सत्ता गठबन्धन फेरबदलका लागि दुई-तीन महिनाअघिबाटै खिचडी पाकेको अहिले थाहा भएको बताए।
‘दुई तीन महिनादेखि नै यस्ता खिचडी पाकेका रहेछन्। यसलाई काउन्टर दिन नेपाली कांग्रेसले सक्थ्यो’, उनले भने, ‘तर म अहिले त्यसतर्फ जान चाहन्नँ। हरेक बादलमा चाँदीको घेरा हुन्छ भने जस्तो भयो। हामी यसलाई सामना गर्छौँ।’
Shares
प्रतिक्रिया