नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएको छ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
संघीय संसद्को तल्लो सदनमा कांग्रेसका अहिले ८८ सांसद छन्। प्रतिनिधि सभामा सभामुख र उपभामुखसहित २७४ सांसद छन्।
प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ मत आवश्यक छ। महान्यायाधिवक्ता दीनमणि पोखरेलले प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार विश्वासको मत लिनुपर्ने बताए।
'संविधानअनुसार २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन। तर समर्थन गरेको दलले फिर्ता लिएमा विश्वासको मत लिनुपर्छ', उनले नेपालखबरलाई भने, 'कांग्रेस संसद्मा निर्णायक पार्टी हो। सानोतिनो मत भए विश्वास नलिँदा हुन्थ्यो। कांग्रेसले फिर्ता लिएपछि अब पहिलेको गठबन्धनको बहुमत छैन, त्यहीकारण प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ।'
२०७९ पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। उनले पुस २६ गते संसद्मा विश्वासको मत लिएका थिए।
त्यसबेला प्रतिपक्षीमा रहेको नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितका सबै दलको प्रचण्डले समर्थन पाए।
संसद् बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएका थिए ।
त्यसपछि कांग्रेससँगको प्रचण्डको सम्बन्ध राम्रो हुँदै गयो। अनि एमाले, रास्वपा र राप्रपाले सरकार छोड्दै समर्थन पनि फिर्ता लिए।
कांग्रेससहितका दलको समर्थन पाएका प्रचण्डले दोस्रो पटक चैत ६ गते फेरि संसदमा विश्वासको मत मागे ।
उनले दोस्रो पटक पनि विश्वासको मत पाए। त्यसदिन भएको मतदानमा उनलाई विश्वास छ भन्ने पक्षमा १७२ मत खसेको थियो। विपक्षमा ८९ मत परेको थियो। मत दिन्नमा एक मत खसेको थियो।
कांग्रेससँग सम्बन्ध बिग्रिएपछि सोमबार एमाले, रास्वपा र जसपासहित दलहरूको नयाँ गठबन्धन बनेको छ।
प्रधानमन्त्री प्रचण्डले सोमबार नै कांग्रेसको गठबन्धका सबै मन्त्रीलाई हटाएरर आफूसहित ४ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।
संवैधानिक प्रावधानअनुसार उनले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। प्रचण्डले अब चैत २१ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ।
Shares
प्रतिक्रिया