एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन्।
उनीहरूसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पनि कोटेश्वर पुगेका छन्। पछिल्लो गठबन्धन बनाउन उपाध्यक्ष पौडेलले भूमिका खेलेको बताइन्छ।
सोमबार नेपाली कांग्रेससँगको तत्कालीन गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेलगत्तै नेपालले आफ्ना दुई मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएका थिए।
प्रचण्डले कांग्रेससहितको गठबन्धन छाडेर आफूलाई धोका दिएको भन्दै अध्यक्ष नेपाल असन्तुष्ट छन्। सोमबार मात्रै बसेको माओवादी सचिवालय बैठकले गठबन्धन तोडिएर रुष्ट बनेका अध्यक्ष नेपाललाई फकाएर नयाँ समीकरणमा मिसाउने निर्णय गरेको थियो।
सोमबार नै प्रधानमन्त्री दाहाल कोटेश्वर पुगेका थिए। उनले त्यहाँ पुगेर नेपाललाई नयाँ सहयात्रामा जोडिन भनेका थिए।
सोमबार नै एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए। अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर कोटेश्वरमै आराम गरिरहेका छन्।
एकीकृत समाजवादी स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले अहिले कोटेश्वरमा तीन नेताहरुबीच वार्ता चलिरहेको बताएका छन्।
ओली र प्रचण्ड दुवैजनाले अहिले पुस १० को तत्कालीन गठबन्धनका सदस्य घटकहरू नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतलाई पनि मिसाउने कोसिसमा छन्।
Shares
प्रतिक्रिया