ad ad

राजनीति


जब देउवाले प्रधानमन्त्रीको प्रस्ताव गर्दा ‘पत्याएनन्’ नेपालले

जब देउवाले प्रधानमन्त्रीको प्रस्ताव गर्दा ‘पत्याएनन्’ नेपालले

नेपालखबर
फागुन २३, २०८० बुधबार १७:९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार बिहानै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमै पुगे। श्रीमती आरजु राणा देउवा र केही विश्वासिला पार्टी नेतासहित कोटेश्वर पुग्दा उनले हातमा फूलको बुके पनि बोकेका थिए।
पूर्वप्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री नेपाललाई जन्मदिनको शुभकामना दिए।

खासमा देउवा नेपाललाई जन्मदिनको शुभकामना दिन मात्र कोटेश्वर पुगेका थिएनन्। नेकपा एमालेसहितको गठबन्धनमा मिसिनबाट रोक्ने प्रयासस्वरुप उनी त्यहाँ पुगेका थिए। किनभने, एकीकृत समाजवादीले नयाँ गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने भनेर निर्णय गर्न केन्द्रीय सचिवालयको बैठक बिहान ११ बजे बोलाइएको थियो। त्यो बैठक नबस्दै देउवा नेपाल निवास गएका थिए। 

भेटघाटका क्रममा देउवाले प्रचण्डबाट धोका भएको गुनासो मात्र गरेनन्, नेपालको मुखैमा आएको प्रधानमन्त्री पद खोस्न एमाले अध्यक्ष केपी शर्मा ओली सफल भएको भनेर टिप्पणी पनि गरे। साथै, उनले वैकल्पिक लोकतान्त्रिक गठबन्धन बनाउन नेपालसमक्ष प्रस्ताव गरे र यो प्रयास सफल भएमा ‘पहिलो प्रधानमन्त्री बन्ने पालो तपाईंकै’ भन्न पनि भ्याए।

नेकपा एसका अध्यक्ष नेपालले देउवाको सदाशयप्रति ‘धन्यवाद’को औपचारिकता निभाए। बाँकी कुरा पार्टीमा छलफल गर्ने बताए। देउवाबाट प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि नेपालले ठोस जवाफ दिएनन्। न स्वागत गरे, न त इन्कार नै।

यसअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धन बन्दा सुरुका दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने, त्यसपछिको एक वर्ष नेपाल र बाँकी दुई वर्ष देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको भनिएको थियो।

प्रचण्डले पहिलो एक वर्ष बालुवाटारमा बिताएर दोस्रो वर्ष चलिरहँदा कित्ता फेरिदिए। यसबाट सबैभन्दा ठूलो धक्का नेपाललाई पुगेको विश्लेषण गरिएको छ। 

तर, प्रचण्ड र ओली नेपाललाई फकाउन प्रयासरत छन्। सोमबार आफू मात्र नेपाल निवास गएका प्रचण्ड मंगलबार साँझ ओलीलाई पनि साथै लगेर गएका थिए। त्यसक्रममा नेपालले वाम सहयात्राको आवश्यकता र अपरिहार्यतालाई लिएर आफू स्पष्ट रहेको बताएका थिए।

नेपालले ‘पावर सेयरिङ’को कुरा पनि उप्काए।  तर, प्रस्ट शब्दमा आफू प्रधानमन्त्री बन्न पाउने कि नपाउने भनेर सोधेनन् र ओली–प्रचण्डले सरकारमा ‘सम्मानजनक सहभागिताको सुनिश्चिता’मा कुरा टुंग्याए।

अन्ततः नेपालले देउवाको प्रस्ताव पत्याएनन् र प्रचण्ड–ओली गठबन्धनमै मिसिने निर्णय लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .