नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ। नाउपाका अध्यक्ष रेशम चौधरीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै तत्काल सरकारमा सहभागी नहुने बताएका हुन्।
नागरिक उन्मुक्तिको सांसद संख्या थोरैमात्र भएको बताउँदै अहिले नै सरकारमा सहभागी नहुने अध्यक्ष चौधरीले बताए।
‘अबको सत्ता गठबन्धन सरकारमा हामीले धेरै विचार विमर्श गरी विवेक पुर्याएर मात्रै सहभागी हुनुपर्छ। हामीभन्दा ठूला दलहरूलाई नियाल्यौं। एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, नेपाली कांग्रेस सबै पार्टीको अवस्था हेर्यौं,’ उनले भने, ‘यसो हेर्दा हामीलाई लाग्यो, हामी त सानो पार्टी जम्मा संघमा चार जना, प्रदेशमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश गरेर जम्मा १२ जना सांसद छन्। त्यसकारण हामी पर्खिन्छौं।’
यसअघिको गठबन्धन सरकारमा नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन अध्यक्ष समेत रहेकी रञ्जिता चौधरी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन्।
गठबन्धन परिवर्तन भएसँगै उनी पनि बाहिरिएकी हुन्।
नाउपा सुदूरपश्चिम प्रदेशमा निर्णायक शक्ति छ। अहिले पर्ख र हेरको अवस्थामा रहेको उसले नयाँ सत्ता गठबन्धन र नेपाली कांग्रेस दुवैतर्फ वार्ता खुला राखेको छ।
चौधरीले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरिरहेका छन्। उता २१ गते एमालेसंग माओवादीको नयाँ गठबन्धन बनेपछि चौधरीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरिसकेका छन्।
‘हामी नाइके भएर खोलामा हाम फालिसक्ने अवस्था भइसकेको छैन। हामीले खोलाको गहिराइ मापन गर्न सक्ने बेला भएको छैन। हामीले सम्झ्यौँ, यो भेलमा कुद्यौँ भने हामी कतै डुबी पो हाल्छौँ कि, कतै भेलले बगाइ पो हाल्छ कि’, चौधरीले भने, ‘त्यसकारण हाम्रा अगुवा ठूला दलले हाम फाले हामी पनि हानौँला।’
दुई दिनसम्म चलेको नाउपाको बैठकले नयाँ गठबन्धनमा सामेल हुने/नहुने निर्णय गर्ने अधिकार अध्यक्ष चौधरीलाई दिइएको छ।
Shares
प्रतिक्रिया