प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा रहेका मन्त्रीहरूलाई जनताले महसुस गर्ने गरी काम गरेर देखाउन निर्देशन दिएका छन्।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा दुवै सदनको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले चटक देखाएर काम नचल्नेतर्फ मन्त्रीहरूलाई सचेत गराए।
ओलीले हिन्दी चलचित्र ‘नायक’ तर्फ इंगित गर्दै त्यसमा जस्तै चटक देखाएर काम नचल्ने पनि बताएका छन्। हिन्दी चलचित्र ‘नायक’मा मुख्यमन्त्रीको भूमिकामा रहेका अमरेश पुरीको चुनौती स्वीकार्दै अभिनेता अनिल कपुर एक दिने मुख्यमन्त्री बन्दै कयौँ सुधारका काम गरेको देखाइएको थियो।
‘अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्नुस्। अन्धाधुन्ध हिँडेर दिन काटेर मात्रै हुँदैन’, उनले भने, ‘हामीले एक दिने मुख्यमन्त्री भनेजस्तो चलचित्र बनाउने होइन, समाज परिर्वतनका लागि लागेका छौँ। चलचित्रमा देखाउने चटक सरकारमा चल्दैन। जनताले महसुस गर्ने र देख्ने गरी काम गर्नुस्।’
सम्बोधनका क्रममा ओलीले मन्त्रीहरूलाई योजना बनाएर काममा अघि बढ्न भने। ओलीले आराम गर्ने बेला गर्ने, सुत्ने बेला सुत्ने तर कम गर्नुपर्ने बेला दायाँबायाँ गर्न नहुनेतर्फ पनि मन्त्रीहरूलाई सचेत गराए। उनले काममा लागिसकेपछि नतिजा दिने गरी होमिन पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
Shares
प्रतिक्रिया