ad ad

राजनीति


गृहमन्त्रीलाई कमल थापाको प्रश्न : ठूला नेताका परिवारलाई जेल हाल्न सक्नुहुन्छ?

गृहमन्त्रीलाई कमल थापाको प्रश्न : ठूला नेताका परिवारलाई जेल हाल्न सक्नुहुन्छ?

फाइल फोटो


नेपालखबर
चैत १, २०८० बिहिबार २०:८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगीको आरोप लागेको भन्दै सो आरोपलाई दुधको दुध, पानीको पानी गर्न चुनौति दिएका छन्।

बिहीवार पार्टीले काठमाडौंमा आयोजना गरेको वृहत जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गरे।

उनले सहकारी ठगीको आरोपलाई पारदर्शी र जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी पार्न चुनौति दिएका हुन्। थापाले नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभुति दिनेछन् भनेर आफूहरुले हेरिराखेको बताए।

उनले पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरु सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्न रहेको भन्दै उनीहरुलाई कारबाही गर्न सक्नुहुन्छ? भनि प्रश्न समेत गरे। उनले ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलाई कानूनको कठघरामा उभ्याउन सक्नुहुन्छ भनेर पनि प्रश्न गरे।

उनले भने, ‘म यही मञ्चबाट नयाँ गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आग्रह गर्न चाहन्छु, के तपाई ललिता निवास जग्गा काण्डमा मुछिएका दुईवटा प्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ? के तपाई सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरुलाई जेलमा राखेर कारबाही गर्न सक्नुहुन्छ?’

उनले थपे, ‘म स्वयं गृहमन्त्रीलाई भन्न चाहान्छु, नक्कली भूटानी शरणार्थी काण्डमा केही व्यक्तिहरु पक्राउ परे तर ठूला नेता र ठूला नेताको परिवारलाई जोगाउने काम भएको छ, के तपाई तिनीहरुलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ? यति मात्र होइन, म गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाई माथि पनि सहकारी ठगीको आरोप लागेको छ, के तपाई त्यसलाई पारदर्शी ढंगबाट, जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ?’

उनले नेपालमा धर्म निरपेक्षता र संघीय गणतन्त्र असफल भएको बताए। उनले सरकार र पार्टीहरुको अर्कमण्यताको कारण युवाहरु विदेशीन बाध्य हुनुपरेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .