प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित भएको छ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएको भन्दै कांग्रेसले संसद्मा अवरोध गरेको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गम्भीर ठगी प्रकरणमा जोडिइसकेको व्यक्तिबारे संसद्मा प्रश्न उठिसकेपछि पदमा बसिरहनु उचित नहुने बताए।
त्यसैगरी कांग्रेसले सुन तस्करी प्रकरणमा पनि सरकारको जवाफ मागेको छ। यी दुई प्रकरणमा सरकारको जवाफ नआएसम्म संसद् चल्न नदिने अडान कांग्रेसले लिएको छ।
शुक्रबार सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन प्रस्ताव पेस गर्न गृहमन्त्री लामिछानेलाई समय दिएसँगै कांग्रेसले अवरोध गरेको हो।
‘प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न सक्दैनौँ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘तर विनियोजन विधेयक र प्राथमिकताको सिद्धान्तालाई हामी रोक्दैनौँ।’
Shares
प्रतिक्रिया