ad ad

राजनीति


तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो : राष्ट्रपति

तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो : राष्ट्रपति

नेपालखबर
चैत ३, २०८० शनिबार १४:२९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान  नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताएका छन्।

राष्ट्रपति पौडेलले आज मटिहानीमा शहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि मटिहानी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै सो धारणा व्यक्त गरेका हुन्।

‘हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ। यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नुछ। यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता’, उनले भने।

राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि उनीहरुको मौलिक हक, अधिकारका लागि संघर्षका गर्ने क्रान्तिको करिडोर हो, मटिहानीदेखि सिन्धुली, ओखलढुंगाहुँदै सगरमाथाको भूमि भएको पनि बताए। उनले मधेसलाई प्रजातन्त्रको भूमिका रुपमा हामीले सम्मान गरिरहेको बताए। 

राष्ट्रपति  पौडेलले हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताए। 

‘राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौं तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ’ उनले भने।

‘हामीले प्रशासनिक रुपमा राज्यको पुनः संरचना ग¥यौ र तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ भन्दै तर, राज्यको चरित्रको भने पुनः संरचना हुन र हामीले केन्द्रीत गरेर राखेको अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँंकी छ,’ उनले भने। 

एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने  कठिन र दुरुह संघर्ष अनि त्याग र बलिदानका कैयौ कष्टकर दिनहरूमा आफूलाई न्यौछावर गरेर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र संगठनलाई नेपाली भूमिमा बलियो, सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविश्राम खटेको एक योद्धाको नाम केशब कोइराला कोइराला भएको उनले उल्लेख गरे। 

यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आव्हान गरे। 

लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता शहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने विश्वास उनले व्यक्त गरे। 

राष्ट्रपति पौडेलले जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम पूजा अर्चन पनि गरेका थिए। साथै उनले पिपरमा रहेको लोकतान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .