डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टीभित्र पछिल्लो समय अवाञ्छित राजनीतिक गतिविधि भएको निष्कर्ष निकालेको छ।
डा. भट्टराईको अध्यक्षतामा बसेको छैटौँ पूर्ण बैठकले त्यस्ता गतिविधिमा संलग्न नेताहरूलाई पदमुक्त गर्ने निर्णय गरेको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिएका छन्।
पार्टीको विधि, पद्धति र अनुशासनविपरीत अन्य दलसँग एकता गर्ने र पार्टीको हितविपरीत अभिव्यक्ति दिने नेताहरूलाई पार्टीले कारबाही गर्ने उनले बताएका छन्।
पार्टीका एकजना अध्यक्षसमेत रहेका महिन्द्र राय यादव, सह-अध्यक्ष गंगानारायण श्रेष्ठसहितले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरिसकेका छन्। यस्तोमा ती दुई नेताको उक्त कदमलाई बैठकले खारेज गरिदिएको शर्माले बताए। अब माओवादीसँग एकता गर्ने निर्णय गरेका दुवै नेतासहितलाई कारबाही गरिने उनले बताए।
यादव र श्रेष्ठसहितको समूहले माओवादीसँग एकताको निर्णय गरेसँगै डा. भट्टराई नेतृत्वको नेसपाले पार्टी एकता-ध्रुवीकरण संयोजन समितिलाई भंग गरेको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएको छ। उक्त आयोजक समितिको संयोजकमा डा. भट्टराईलाई तोकिएको छ।
उता नेसपाका अध्यक्ष यादव समूहले केन्द्रीय समितिमा बहुमत पुर्याउन हस्ताक्षर अभियान सुरु गरेको छ।
अध्यक्ष डा. बाबुराम भट्टराई समूहको सोमबार बसेको बैठकले अध्यक्ष महिन्द्रसहितका नेताहरूलाई पदमुक्त गरेपछि हस्ताक्षर अभियान चलाइएको हो।
Shares
प्रतिक्रिया