नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा सोमबार कपिलवस्तुबाट पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा दिन आग्रह गरेका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकका क्रममा अध्यक्ष प्रचण्डले हाल नर्भिक अस्पतालमा भर्ना भएका महरालाई राजीनामा दिन सुझाएका हुन्।
बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सहभागी अन्य नेताहरूले महराबारे आफैं निर्णय लिन प्रचण्डलाई सुझाएका थिए।
इलेक्ट्रिक सिगरेटमा लुकाएर भएको १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका महरालाई यसअघि सरकारले पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा बनाएको जाँचबुझ आयोगले पनि कारबाही सिफारिस गरिसकेको छ।
आयोगको उक्त सिफारिसअनुसार महरालाई सुन तस्करीका मतियारका रुपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिरासतमा लिएको हो। यद्यपि काठमाडौं जिल्ला अदालतले उपचार व्यवस्था गर्न भनेपछि महरा अहिले नर्भिकमा भर्ना भएका छन्।
‘बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकमा नेताहरूले तपाईं आफैंले महरा सरलाई फोन गर्नुस् भनेर अध्यक्षलाई सुझाउनु भएको हो’, एक नेताले भने, ‘त्यस बैठकमा राजीनामा गराउने वा निलम्बन गर्ने कुरामा कुनै निर्णय हुन सकेन। त्यसपछि हामी सबैले निर्णय अध्यक्ष आफैंले लिनुस् भनेर बाटो खोलिदिएका हौँ।’
उक्त बैठककको सुझावअनुसार प्रचण्डले महरालाई फोन गरेर राजीनामा मागेका हुन्। पदाधिकारी बैठकमा महरालाई भेट्न केही नेताहरू नर्भिक जानेबारे पनि कुरा भएको थियो। महरालाई केही नेताले नर्भिक पुगेर पार्टी पदाधिकारी बैठकमा उठेका कुराबारे जानकारी गराएको स्रोतले जनाएको छ।
त्यसअघि प्रचण्डले सरकारी निकायबाट छानबिन सुरु भएको अवस्थामा राजीनामा दिनु उचित हुने बताएका थिए। उनले निलम्बनतिर लाग्ने भन्दा राजीनामा उचित विकल्प भएको महरालाई सुझाएका थिए।
‘तपाईंबारे छानबिन सुरु भइसकेको छ, राजीनामा दिँदा राम्रो हुन्छ, किन निलम्बनतिर लाग्नु’, महरालाई प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले किन कारबाही गरे जस्तो सन्देश दिनु, त्यसैले कारबाही प्रक्रिया किनारा नलागेसम्म राजीनामा नै उपयुक्त हो।’
स्रोतका अनुसार प्रचण्डको उक्त आग्रहपछि महराले सोचेर, सल्लाह गरेर उचित निर्णय लिने जवाफ दिएका छन्। महराले ठोस निर्णय दिइनसकेकाले उनीबारे तत्कालै केही नगरी माओवादी पदाधिकारी बैठक सकेर प्रचण्ड संसद्तिर लागेका थिए।
सोमबार भैरहवा हुँदै यती एयरको जहाजबाट काठमाडौं ल्याइएका महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ।
संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागु हुने गरी उनलाई न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन हिरासतमा राख्न अनुमति दिएका थिए।
उक्त आदेशका क्रममा न्यायाधीश खनालले महराको उपचारको बन्दोबस्त मिलाउन पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशन दिएका थिए।
महराले इजलासमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको बताएका थिए। उनले आफूलाई विभिन्न रोग रहेको बताएपछि अदालतले अनुसन्धानको जिम्मेवारी लिएको सीआईबीलाई उपचार व्यवस्था गर्न निर्देशन दिएको थियो।
Shares
प्रतिक्रिया