ad ad

राजनीति


पुनः मतगणना माग गरिएका रिट सर्वोच्चद्वारा खारेज

पुनः मतगणना माग गरिएका रिट सर्वोच्चद्वारा खारेज

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८० बुधबार १७:३४, काठमाडौँ

०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाका क्रममा धाँधली भएको भन्दै परेका तीनवटा रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

२०७९ को निर्वाचनमा पराजित ३ जना उम्मेदवारहरूले दायर गरेका रिटलाई सर्वोच्चको संवैधानिक इजलासले खारेज गरिदिएको हो। 

२०७९ को आमनिर्वाचनमा झिनो मतले पराजित भएका उम्मेदवारहरू धनुषाका उमाशंकर अरगरिया, रुपन्देहीका गणेण पौडेल र इलामका डम्बरबहादुर खड्काले दायर गरेका रिट खारेजीमा परेका हुन्। 

बुधबार सर्वोच्च अदालतका प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमासम्मिलित संवैधानिक इजलासले उनीहरू तीनैजनाको रिट खारेज गरिदिएको हो।

२०७९ को निर्वाचनमा अरगरिया धनुषा क्षेत्र नम्बर २ मा अरगरिया झिनो मतले पराजित भएका थिए। अगरियालाई १५७ मतले पराजित गर्दै नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका थिए। 

यादवले २० हजार ११२ मत ल्याउँदा अरगरियाले १९ हजार ९५५ मत प्राप्त गरेका थिए। त्यसपछिले उनले धाँधली आरोपसहित निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट हालेका थिए। 

उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदान माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

उनले पुन: मतदान र मतगणनाको क्रममा धाँधली भएको भन्दै रिट हालेका थिए। गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो।

उक्त निर्वाचनमा एमालेका उम्मेदवार विष्णु पौडेलसँग गणेश पौडेल १ हजार ३ सय ६६ मतले पराजित भएका थिए।

उता इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङविरुद्ध कांग्रेसका डम्बर खड्काले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

मतगणनामा धाँधली गरेर नेम्वाङलाई जिताएको भन्दै खड्काले  पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटलाई पनि सर्वोच्चले खारेज गरिदिएको छ।

एमाले उपाध्यक्ष नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए। 

त्यसपछि खड्काले मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घण्टौँ मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबरजस्ती विजयी बनाएको भन्दै रिट हालेका थिए।

यसबीचमा एमाले उपाध्यक्ष नेम्वाङको निधन भइसकेको छ। उनको निधन भएर खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। जहाँ २०७९ मा पराजित खड्का कांग्रेसबाट दौडमा छन् भने दिवंगत नेता नेम्वाङ पुत्र सुहाङ एमालेबाट प्रवल दाबेदार छन्। 

उता नेकपा विभाजनपछि एमालेमा बस्दा राष्ट्रिय सभा सदस्य पद गुमाएका पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले दायर गरेको रिट पनि संवैधानिक इजलासले खारेज गरिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .