ad ad

राजनीति


सभामुखलाई सीआईबीको पत्र : सांसद विनोद चौधरीमाथि अनुसन्धान हुँदै छ

सभामुखलाई सीआईबीको पत्र : सांसद विनोद चौधरीमाथि अनुसन्धान हुँदै छ

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८० बुधबार १९:२५, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको जनाएको छ। 

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बुधबार सभामुख देवराज घिमिरलेलाई एक पत्र लेख्दै प्रतिनिधि सभा सदस्य एवम् उद्योगी चौधरीमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका हुन्।

‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक सेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसद्का‍ माननीय सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ,’ सीआईबीले घिमिरेलेलाई लेखेको पत्रमा भनिएको छ।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको प्रकरणमा चौधरीमाथि सीआईबीले अनुसन्धान भइरहेको जनाएको हो।

यसअघि त्यही प्रकरणमा विनोदका भाइ अरुण चौधरीसहित तीनजना पक्राउ परेका थिए। अरुण चौधरसहित पक्राउ परेका तीनजनालाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्ने आदेश दिइसकेको छ। 

संसद् सचिवालयका एक अधिकारीले सीआईबीको पत्र आएको बताएको बताउँदै तत्काल यस पत्रबारे कुनै कारबाही आवश्यक नरहेको उल्लेख गरे।

संघीय संसद् नियमावलीमा यसअघि कुनै पनि सांसदलाई पक्राउ गर्नुअघि संसद् सचिवालयलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था थियो।

तर अहिले कुनै पनि सांसदलाई पक्राउ गरिसकेपछि लिखित सूचना संसदीय सचिवालयलाई दिए पुग्छ। संसद् नियमावलीमा हाल सीआईबीले पठाएको पत्रले कुनै अर्थ नराख्ने ती अधिकारीले बताए।

संसद्‍मा नेपाली कांग्रेसका सांसदहरूले पछिल्लो समय गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएका छन्। संसद्‍मा कांग्रेसले घेराउ गरेका बेला गृहमन्त्री लामिछानेले कांग्रेसलाई सन्देश दिन सीआईबीमार्फत पत्र पठाएको हुन सक्ने अर्थ संघीय संसद्‍का अधिकारीले लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .