ad ad

राजनीति


आदर्श मानिएका नेता नै भ्रष्टाचारमा संलग्न देखिएको भन्दै केन्द्रीय सदस्य शर्माले छाडे माओवादी

आदर्श मानिएका नेता नै भ्रष्टाचारमा संलग्न देखिएको भन्दै केन्द्रीय सदस्य शर्माले छाडे माओवादी

नेपालखबर
चैत ८, २०८० बिहिबार १०:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीबाट राजीनामा दिएका छन्। 

माओवादी पार्टीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले पार्टीका नेताको गतिविधि हेर्दा आकाश–पातालको भिन्नता देखिएको भन्दै शर्माले पार्टी छाडेका हुन्।  

‘महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन, १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महसुस गरेको छु’, ‘माओवादी पार्टी गुटैगुटको महासंघमा रूपान्तरण हुनु! १० वर्षे जनयुद्धको दौरान आफैँले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेशविपरीत सरकारमा रहनकै लागि पटकपटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरताको अँध्यारो दिशातर्फ धकेलेको महसुस गरेको छु। यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन।’

सुन तस्करी प्रकरणमा केही दिनअघि मात्रै पूर्वसभामुख समेत रहेका उपाध्यक्ष कृष्णबहादृुर महरा पक्राउ परेका छन्। 

यस्तो शर्माको राजीनामापत्र-

आदरणीय अध्यक्ष क.प्रचण्ड

नेकपा (माओवादी केन्द्र)

विषय- राजीनामा

३ वर्षको भूमिगत जीवन र १५ वर्षको खुला (संसदीय) राजनीतिमा आदरणीय अध्यक्ष क. प्रचण्डसँग केन्द्रीय समितिमा रही काम गर्ने अवसर प्राप्त भयो। यो अवधिमा उहाँलगायतका नेताहरूसँग सहकार्य गर्दा अमूल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अवसर मिल्यो। यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

नेकपा माओवादी पार्टीको असल नीति र क्रान्तिकारी नेतृत्वकै कारण मैले सरकारी सेवाबाट विद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरेँ। जनयुद्धको दौरान आफू सौभाग्यवश पटकपटक बाँच्न सफल भए पनि आफ्नो परिवारको सदस्यले शहादत प्राप्त गरे। म निर्वाचित संविधान सभा पद माओवादीकै कारण राजीनामा नै दिएँ। म माओवादी पार्टीको एउटा वफादार सिपाही भएर इमानदारीपूर्वक देश र जनताको पक्षमा दुई दशकसम्म योगदान गर्ने अवसर प्राप्त गरेँ।

माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश-पतालको फरक पाएको अनुभूति हुन्छ। माओवादी पार्टीले लिएका क्रन्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचानसहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, नि:शुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको साथै रोजगारीको ग्यारेन्टीसहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन, महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन, १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महसुस गरेको छु।

सम्मानीय प्रधानमन्त्री प्रचण्डज्यूले दैनिकजसो अभिव्यक्तिमा सुशासन,समृद्धि र समाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टीका प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटैगुटका महासंघको रूपमा रूपान्तरण हुनु, १० वर्षे जनयुद्धको दौरान आफैँले उठाएको मुद्दाबाट च्यूत हुँदै जानु र जनादेशविपरीत विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटकपटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रीडास्थल बनाई अन्तत: अँध्यारो दिशातर्फ धकेलेको महसुस गरेको छु। यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन। तसर्थ आजकै मितिबाट म रामकुमार शर्मा नेकपा (माओवादी केन्द्र)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु। 

२०८० चैत्र ८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .