ad ad

राजनीति


चीनसँग तत्काल बीआरआई कार्यान्वयन सम्झौता नहुने

चीनसँग तत्काल बीआरआई कार्यान्वयन सम्झौता नहुने

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई दिँदै चिनियाँ राजदूत छन सोङ


नेपालखबर
चैत ८, २०८० बिहिबार ११:४६, काठमाडौँ

चीनसँग तत्कालै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन सम्झौता नहुने भएको छ। 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चैत ११ गतेदेखि हुने चीन भ्रमणको क्रममा सम्झौता हुने चर्चा थियो। 

चीनले अगाडि बढाएको बीआरआई परियोजनामा नेपाल समावेश भए पनि यसको कार्यान्वयन सम्झौता हुन सकेको छैन। यसअघि नेपालले बीआरआईअन्तर्गत नौवटा परियोजना राख्ने प्रस्ताव चीनसमक्ष गरेको थियो। 

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बीआरआई सम्झौताबारे छलफल गरे पनि कुनै निर्णय नगरेको एक मन्त्रीले बताए। 

‘परराष्ट्रमन्त्रीको अहिले हुन लागेको चीन भ्रमणकै बेला बीआरआई सम्झौता हुँदैन, परराष्ट्रमन्त्री बीआरआई सम्झौता गर्न बेइजिङ जान लाग्नुभएको होइन,’ मन्त्रिपरिषद बैठक सकेर बाहिरिएका एक मन्त्रीले भने, ‘तर पछि कुनै अनुकूल समयमा बीआरआई सम्झौता हुन सक्छ, त्यो आवश्यक पनि छ।’

परराष्ट्रमन्त्री भएपछि दर्जनौँ देशका राजदूतहरूसँग भेटवार्ता गरिरहेका श्रेष्ठले ‘परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुनु पर्ने’ बताउँदै आएका छन्। जुन सहमतिबाट एमसीसी, बीआरआई लगायतका भूराजनीति जोडिएका परियोजना अगाडि बढाउन सहज हुने मन्त्री श्रेष्ठको संकेत छ।

परराष्ट्रमन्त्री श्रेष्ठ चैत ११ गते ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने कार्यतालिका छ। बेइजिङमा १३ गते चीनका विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय वार्ताको क्रममा नेपाल–चीनबीच बीआरआई सम्झौता पनि गर्ने तयारी थियो।  

नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमाले, रास्वपासँग फेरि गठबन्धन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल चीनसँग बीआरआई सम्झौता गर्न चाहन्छन्। प्रधानमन्त्रीले त्यही अनुसार तयारी गर्न भनेपछि केही दिनअघि नै ‘बीआरआई कार्यान्वयन सम्झौता’ को मस्यौदा चीनका राजदूतलाई दिइएको बताइएको छ। परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणका क्रममा बेइजिङमा यो सम्झौता गर्ने तयारी थियो।

तर त्यसयता केही दिन प्रधानमन्त्री प्रचण्डमाथि बीआरआईमा अगाडि नबढ्न व्यापक दबाब आएपछि तत्काललाई यो स्थगित गरिएको हुन सक्ने स्रोतहरूले दाबी गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .