ad ad

राजनीति


लोसपाको निर्णय : भारतले सिधै दिने २० करोडको स्वागत, चिनियाँ परियोजना बीआरआईको विरोध

पार्टी छाडेका राजेन्द्र महतोबारे मौन
लोसपाको निर्णय : भारतले सिधै दिने २० करोडको स्वागत, चिनियाँ परियोजना बीआरआईको विरोध

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०८० बिहिबार १३:३६, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राजेन्द्र महतोबारे मौन बसेको छ।

यसअघि नै पार्टी छाडेर नयाँ अभियान थालिसकेका वरिष्ठ नेता महतोबारे यही मंगलबार र बुधबार महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले कुनै निर्णय नगरेको हो।

लोसपा अध्यक्ष ठाकुरसँग गम्भीर मतभेद राख्दै पार्टी छाडेर नयाँ अभियान थालेका महतोबारे बैठकमा कुनै कुरा नभएको एक नेताले बताएका छन्।

बैठकका निर्णयबारे जानकारी दिन ठाकुरले बिहीबार जारी गरेको वक्तव्यमा पनि वरिष्ठ नेता महतोबारे कहीँ केही उल्लेख गरिएको छैन। 

‘उहाँ (राजेन्द्र महतो) ले खुसीसाथ पार्टी छाडेर गइसक्नु भएको छ। उहाँबारे बैठकमा कुरा गर्नुको अब अर्थ रहेन’, एक पदाधिकारीले नेपालखबरसँग भने, ‘बिदा भइसकेको मान्छेलाई कारबाही या अरु कुनै कदम चालिरहनु परेन। त्यसैले यो दुई दिने बैठकमा खास कुरा भएन।’

बीआरआईको विरोध
लोसपा चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको भने विरोधमा उत्रिएको छ।

सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको बीआईरआईले नेपालको हित नगर्ने जिकिर अध्यक्ष ठाकुरले गरेका छन्।

नेपालले बीआरआई अघि बढाउन कार्यान्वयन सम्झौता गर्ने चर्चाबीच लोसपाले त्यसको विरोध गरेको हो। 

‘बीआरआई सम्झौता नेपालको हितमा नभएको पार्टीको ठहर रहेको छ’, अध्यक्ष ठाकुरले बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

लोसपाले भारतसँग भएको विद्युत व्यपार सम्झौताअन्तर्गत १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति मुलुकको व्यापक हितमा भएको दाबी गरेको छ।

‘यसले मुलुकको समृद्धिमा टेवा पुग्ने भएकोले यसलाई स्वागत गर्दछ’, ठाकुरले भनेका छन्, ‘मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोडलाई २० करोडसम्मको सीमा तय गरिएको निर्णयलाई यो बैठकले स्वागत गर्दछ।’

लोसपाले नेपाल-भारत सीमा व्यवस्थापन गर्ने नाममा आमनागरिकलाई दुखः दिने कार्य अविलम्व रोक्न पनि माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .