उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सिंगो देशले देख्नेगरी आफूमाथि लागेका आरोपको सार्वजनिक बहस गराउन चुनौती दिएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कांग्रेसप्रति आक्रामक भाषण गरेका लामिछानेले लगत्तै सामाजिक सञ्जालमार्फत पनि खुला बहसमा एक्लै आउने उल्लेख गरेका छन्।
रास्वपा सभापति समेत रहेका लामिछानेले आफूमाथि लागेको आरोपको बहस सकेसम्म काठमाडौँ क्षेत्र नम्बर ४ मा नै गर्नपाए राम्रो हुने भन्दै महामन्त्री गगन थापालाई आरोप पुष्टि गर्न चुनौती दिएका हुन्।
‘तपाईंहरूले भनेको दिन, स्थान र समयमा तपाईंहरू र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला।’
उक्त बहस सामाजिक सञ्जालमार्फत लाइभ गरेर सिंगो देशलाई नै देखाउनुपर्ने रविको भनाइ छ।
‘सारा देशका अगाडी तपाईंहरूले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नुहोला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदातामाथि न्याय गर्नैपर्छ। जवाफ दिनैपर्छ,’ उनले भने।
उनले आरोपका जवाफ दिन कहिले आउँ? भन्दै प्रश्न पनि गरेका छन्।
लामिछानेले सहकारी पीडित सबैले न्याय पाउने पनि दाबी गरेका छन्। उनले आफू सुर्यदर्शन सहकारीको सदस्य वा पदाधिकारी केही नभएको, त्यहाँको पैसा निकाल्न वा कतै लान सक्ने अधिकार नभएको र प्रहरीले समेत कुनै पत्र आफूलाई नकाटेको प्रष्टीकरण पनि दिएका छन्।
छन मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु,’ रविले भनेका छन्।
Shares
प्रतिक्रिया