नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सरकारमा गएर आफूहरूलाई केही गर्न नदिइएको बताएका छन्।
आइतबार जापानमा थारु कल्याणकारिणी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आफ्नो पार्टीबाट रञ्जिता श्रेष्ठ ११ महिना मन्त्री भए पनि केही काम गर्न नसकेको उनले बताए।
चौधरीले रञ्जिता मन्त्री हुँदा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै काम गरेकव बताए।
‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन्। ११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो। हाम्रो काम भएन। कांग्रेस, एमाले, माओवादीको मात्रै भयो’, उनले भने, ‘जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर गाडी चढ्न र उद्घाटन गर्न जान मन्त्रालय हामीलाई चाहिएको छैन। हामी जनताको सेवक बन्न चाहन्छौँ। खेतमा गएर किसानको समस्या बुझ्न चाहन्छौँ।’
ठूला दल आफूहरूको घर भत्काइदिने स्याल, हुँडार, बाघ, भालुजस्तै भएको उनले बताए।
चौधरीले ठूला दलले ०८४ सम्म साना दललाई सखाप पार्ने योजना बनाएको दाबी गरे।
नाउपाका केही नेताहरूले जनताको सेवक बन्न छाडेर मन्त्री बन्ने अपेक्षा राखेको उनले बताए। नाउपाका नेताहरू सकेसम्म आफ्नो आँखा छलेर सिंहदरबार पस्न खोजेको उनले बताए।
‘मेरो पार्टीमा पनि धेरै साथीहरूको आकांक्षा मन्त्री बन्ने रहेछ। म भन्छु जनताको सेवक बन्न पाऊँ। मेरा साथीहरू भन्नुहुन्छ मन्त्री बन्न पाऊँ। म भन्छु– जनताको सेवा गर,’ उनले थपे, ‘मेरा साथीहरू भन्छन्– गाडी चढेर सिंहदरबार कतिबेला जान पाइएला? सकेसम्म रेशमको आँखा छलेर जान पाए हुन्थ्यो।’
पार्टीको विषयमा पछल्लो समय पत्नी रञ्जितासँग रेशमको विवाद चुलिँदै गएको छ। पार्टीको विषयमा उनीहरूबीच तिक्तता बढिरहेको छ।
रेशम प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन नहुने पक्षमा थिए। तर, रञ्जिताले रेशमको आग्रहलाई अस्वीकार गर्दै विश्वासको मत दिन आफ्ना सांसद्लाई ह्वीप लगाएकी थिइन्।
रञ्जिताको सहमतीबिना रेशमले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीबाट मन्त्री पठाए। रञ्जिताले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका नाउपाका मन्त्रीहरूलाई कारबाही गर्ने चेतावनी दिएकी थिइन्।
Shares
प्रतिक्रिया