नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक विकल्पमा छलफल गरेर भए पनि प्रदेश सरकारहरूलाई स्थायित्व दिन दलहरूलाई आग्रह गरेका छन्।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै प्रमुख प्रतिपक्षी दल बनेको छ।
कांग्रेस नेता कोइरालाले प्रदेशमा पनि केन्द्रीय सत्ता गठबन्धनअनुसार सरकार बनाउन खोजिए कतिपय प्रदेशमा मध्यावधि चुनावमा जाने स्थिति पनि आउने चेतावनी नेता कोइरालाले दिएका छन्।
‘वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धनअनुरूप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ। मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन। यसले संघीयताविरोधी स्वरलाई मलजल गर्दछ’, कोइरालाले भनेका छन्, ‘तसर्थ हरेक विकल्पमा छलफल गरौँ र हालका प्रदेश सरकारहरूलाई स्थायित्व दिऊँ।’
निर्वाचन भएको डेढ वर्षमै पटकपटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि बेठिक भएको तर्क कोइरालाले राखेका छन्।
उनी लेख्छन्, ‘हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनु हुँदैन।’
केन्द्रीय सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी आबद्ध छन्। तर सबै प्रदेशमा सोहीबमोजिम सरकार गठन गर्न सकिने अवस्था छैन। अन्य साना दलको पनि साथ लिनुपर्ने आवश्यकता छ।
Shares
प्रतिक्रिया