राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल अध्यक्ष बनेसँगै उपाध्यक्ष उर्मिला अर्यालले बिहीबार पदबाट राजीनामा दिएकी छन्।
२०७९ माघ २३ गते निर्विरोध उपाध्यक्ष बनेकी अर्याल राष्ट्रिय सभाको अध्यक्षका लागि दाबेदार थिइन्। तर दाहाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष बनाएसँगै अर्यालले पद त्यागेकी हुन्।
यद्यपि उनले अध्यक्ष दाहाललाई बुझाएको एक पृष्ठको राजीनामा पत्रमा कारण भने खुलाएकी छैनन्।
उनले राजीनामा पत्रमा आफूलाई सहयोग गर्ने सबैजनालाई धन्यवाद दिएकी छन्।
‘...उपाध्यक्षको भूमिकामा रहँदासम्म मलाई निरन्तर सल्लाह, सुझाव र सहयोग गर्ने राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय सदस्यज्यूहरू, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव, सचिवालय सचिवलगायत अन्य सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू, निजी सचिवालय र स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरू, मर्यादापालक कर्मचारीहरू, पत्रकार, शुभेच्छुक लगायत सबैलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय सभा उपाध्यक्षको पदबाट राजीनामा दिएको छु’, उनले भनेकी छन्।
अर्याल आफैं राष्ट्रिय सभाको अध्यक्षका लागि दाबेदार रहेको अवस्थामा माओवादीले दाहाललाई उक्त पदमा ल्याएको छ।
माओवादीबाट दाहाल अध्यक्षमा आएपछि अब उपाध्यक्ष पद सत्ता गठबन्धनको अर्को दलको पोल्टामा जानेछ।
यस्तोमा अब उपाध्यक्ष पद नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये एकले लिने सम्भावना छ।
उपाध्यक्ष पद कसले लिने भन्ने सहमति गठबन्धनमा भइसकेको छैन।
असन्तुष्ट रहेका भनिएका एकीकृत समाजवादीका अध्ययक्ष माधवकुमार नेपाललाई खुसी बनाउन गठबन्धनले उक्त पद दिने सम्भावना पनि छ।
सत्ता गठबन्धनबीच प्रदेश सरकारहरूको पनि भागबन्डा मिलिसकेको छैन। यस्तोमा राष्ट्रिय सभा उपाध्यक्ष पद, इलाम २ र बझाङको प्रदेश सभा निर्वाचनबारे पनि प्याकेजमा सहमति गर्ने सम्भावना छ।
Shares
प्रतिक्रिया