सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन्।
आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको ट्रक उद्योगनै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रुपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे। अविलम्व भारत सरकारसँग कुरा गरेर सरकारले नेपालको ट्रक व्यवसायीहरुको हितको लागि पनि भारतीय ट्रकलाई निर्वाध रुपमा प्रवेश गर्न दिने कुरा रोक्नुपर्ने सांसद पन्तको भनाई थियो।
उनले नेपालको ट्रक भारतमा निर्वाध रुपमा संचालन गर्न नपाउने तर भारतीय ट्रकले नेपालमा ७२ घण्टासम्म रहने पाउने व्यवस्था कुनैपनि हिसावले राष्ट्रको हितमा नभएको जिकिर गरे।
भारतीय ट्रकको नेपालमा खुला प्रवेशले नेपालका ट्रक व्यवसायीहरु मारमा परेको र उनीहरुको रोजगारी समेत खोसिएकोप्रति सरकार गम्भीर नभएको सांसद पन्तको आरोप समेत लगाए।
सांसद पन्तले भने, ‘जसरी भारतीय ट्रकले नेपालमा छुट पाएको छ, त्यस्तै छुट भारतमा पनि हामीले पाउनुपर्यो। हाम्रा ट्रकहरू पनि भारतमा निर्वाध रुपमा गएर समान ल्याउन र लैजान पनि पाउनुपर्यो। यदि त्यो अधिकार नेपाली यातयात व्यवसायीहरूले पाउँदैनन् भने, हाम्रा ट्रक व्यवसायीहरूले पाउँदैनन् भने भारतीय ट्रकलाई मात्रै नेपाली बजारमा छुट दिनुपर्ने कारण के?’
सांसद पन्तले नेपालको ढुवानी उद्योगको जगेर्ना गर्न पनि सरकारले भारतीय ट्रकमाथि नियमन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले थपे, ‘सम्बन्धित मन्त्रालयले भारतीय अधिकारीहरूसँग वार्ता गरेर भारतभित्र भारतीय ट्रकले र नेपालमा आएपछि नेपाली ट्रकले त्यो समान ओसार्ने व्यवस्था गर्नुपर्छ। नेपालको ढुवानी व्यवसायको जर्गेना गर्ने काममा सरकारले ध्यान देओस्।’
Shares
प्रतिक्रिया