नेपाली दर्शकश्रोतामाझ चर्चित गायक हुन्, महेश काफ्ले। बाल्यकालमै ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’ हिट गीत दिइसकेका उनी अहिले पनि युवापुस्तामाझ लोकप्रिय छन्।
६ वर्षअघि ‘नाच फिरिरी’ बोलको गीत ल्याएका महेश निरन्तर संगीतकर्ममा छन्। उनकै शब्द, संगीत र स्वरबद्ध यस गीतलाई नेपाली संगीतप्रेमीले निकै मन पराए। त्यसबेलादेखि महेशको सांगीतिक करिअर लगातार उकालो ग्राफमा छ।
महेशले गाएका नाच फिरिरीसहित माया बिरानी, लज्जावती झार, तातो गोली दर्शकश्रोताले अधिक रुचाएका गीत हुन्। केही दिनअघि मात्रै रिलिज भएको उनको ‘चाइना जापान’ गीतले पनि निकै चर्चा पाइरहेको छ। हिट गीत दिन सफल महेशको स्टेजमा पनि राम्रै माग हुन्छ।
तिनै गायक महेश काफ्लेसँग गरिएको स्टेजकेन्द्रित कुराकानी:
अहिले केमा व्यस्त हुनुहुन्छ?
भर्खरै 'चाइना जापान' गीत रिलिज भएको छ। योभन्दा अगाडि मेरा गीतहरूमा विशेषतः प्रेमकै कुरा थियो। तर, यसपालीचाहिँ वियोगको कुरा ल्याएर आएको छु। यस गीतका शब्दलाई अडियन्सले निकै मन पराउनुभएको छ। टिकटक र रिल्सतिर गीतका क्लिप ट्रेन्टिङमा छन्। त्यस हिसाबले खुसी लागिरहेको छ। नयाँ गीतसहित स्टेज प्रोगाममा पनि पुगिरहेको छु।
सामान्यतः स्टेजमा कति समय प्रस्तुति दिनुहुन्छ?
प्रस्तुति दिनेचाहिँ हेरेर हुन्छ। कहिलेकाहीँ महोत्सवमा धेरै कलाकार हुँदा आधा घण्टा वा पौने घण्टा मात्रै हुन्छ। तर, सामान्यतः एक घण्टा जति नै प्रस्तुति दिन्छु।
स्टेज चढेपछि एकचोटिमा कतिवटा गीत गाउनुहुन्छ?
स्टेजमा चढेपछि सामान्यतः सात/आठ वटा गीत गाउँछु। बीचमा दर्शकसँग अन्तक्रिया पनि गरिन्छ। कहिलेकाहीँ दर्शकको वन्समोर धेरै आउँदा रिपिट गर्नुपर्ने हुन्छ।
अनि स्टेजमा गएपछि नछुट्ने गीत कुन हो?
स्टेजमा गएपछि नछुट्ने गीत माया बिरानी हो। यस गीतलाई प्रायः सबैले एकदमै रुचाइरहनुभएको हुन्छ। त्यस्तै पर्दा दुइ/तीनचोटि पनि गाउनुपरेको छ। हुन त तातो गोलीमा पनि वन्समोर आउँछ। तर, माया बिरानीमा चाहिँ अडियन्स बढी रमाइलो मानिरहेजस्तो लाग्छ।
त्यसो भए माया बिरानी गीतबाट नै तपाईंको स्टेजमा व्यस्तता बढेको हो?
त्यसो पनि होइन। सुरुमै आएको नाच फिरिरी पनि एकदमै लोकप्रिय भएको थियो। त्यतिखेर पनि स्टेजका लागि निकै अफर आएको थियो। तर, पहिलो काम भएकाले सबैतिर जान मन लागेन। सुरुमा कसरी अगाडि बढ्ने भन्ने अन्योल हुँदोरहेछ। स्टेज प्रोगाम मज्जाले गर्न थालेकोचाँहि माया बिरानीबाट नै हो।
तपाईंलाई देश/विदेशमध्ये कताको कार्यक्रममा रमाइलो बढी लाग्छ?
धेरै अडियन्स त देशकै कार्यक्रममा भेटिन्छ। महोत्सवहरूमा २० देखि ४० हजारसम्म ठूलो संख्यामा अडियन्स आउनुहुन्छ। त्यो हिसाबले देशभित्रको कार्यक्रमको अर्कै रौनक हुन्छ। देशबाहिरको कार्यक्रममा अडियन्स थोरै भए पनि छुट्टै अट्याचमेन्ट हुन्छ। किनभने उहाँहरू देश छोडेर बाहिर जानुभएको हुन्छ। त्यो हिसाबले उहाँमा छुट्टै न्यानोपना महसुस गर्न पाइन्छ। आर्टिस्ट मात्रै होइन कि एउटै देशबाट कोही गाउँले र परिवारको सदस्य आएजस्तो भाव देखाउनुहुन्छ। त्यो हिसाबले बढी मजा लाग्छ।
फ्यानसँगको मीठो अनुभव कत्तिको छ?
फ्यानहरूसँगको मीठो अनुभूति त धेरै हुन्छ। तर, तत्कालकै कुरा गर्दा एकजना बहिनीसँगको भेट मीठो लाग्छ। पहिल्यैदेखि उहाँ मलाई धेरै सपोर्ट गर्नुहुन्छ। मेरो हरेक गीत आउँदा सेयर गर्नुहुन्थ्यो। जन्मदिन होस् वा अरू केही हुँदा उहाँ शुभचिन्तकको रूपमा सम्झिनुहुन्छ। तर, उहाँले मलाई प्रत्यक्ष देख्नुभएको थिएन। बहिनीको घर हेटौँडा रहेछ। अस्ति हेटौँडाको कार्यक्रममा जाँदा उहाँ भेट्न आउनुभएको थियो। मलाई देखेर उहाँ निकै खुसी हुनुभयो। त्यो पल मीठो लाग्छ।
फ्यानहरूले गर्दा दु:ख भोग्नुपरेको छ?
अहिलेसम्म त्यस्तो दु:ख भोग्नुपरेको छैन। प्रस्तुति सकिएपछि उहाँहरूलाई हामीसँग भेटम् अनि फोटो खिचम् भन्ने इच्छा हुन्छ। तर, धेरैजना हुँदा सबैलाई आफ्नै हिसाबले पालैपालो खिच्न सकिँदैन। आयोजकले पनि सुरक्षा हेर्नुपर्ने हुन्छ। धेरैजनाले फोटो खिच्न खोज्दा उहाँहरुलाई पनि व्यवस्थापन गाह्रो हुन्छ। त्यस्तोमा फ्यानहरुले नराम्रो मानिरहेको देख्छु। मचाहिँ गाडीभित्रैबाट हेलो, सरी अर्को चोटि भेटौंला भनेर रेस्पोन्स गरिरहेको हुन्छु। हामीले दुवैतर्फबाट बुझ्नुपर्छ।
अनि आयोजकबाट नि?
ठ्याक्कै त्यस्तो दु:ख पाएको त छैन। अब यसमा हाम्रो देश नै माथिदेखि सिस्टममा छैन। कलाकारिता क्षेत्रमा पूर्ण व्यावसायिकता छैन। जसकारण धेरै समस्या आइरहेको हुन्छ। तर, मैलेचाहिँ कसरी लिन्छु भने जब हाम्रो देश नै अर्धव्यावसायिक अवस्थामा छ भने मनोरञ्जनमा मात्रै एकदम व्यावसायिकता खोज्न सकिँदैन। त्यस हिसाबले म सामान्य रूपमा लिन्छु। बच्चैदेखि यसै क्षेत्रमा भएकाले एडजस्ट गरिरहेको हुन्छु। कहिलेकाहीँ आयोजकले राम्रो गर्न खोज्दा पनि भइरहेको हुँदैन।
तपाईंले आयोजकचाहिँ कत्तिको छनोट गर्नुहुन्छ?
आयोजक कस्तो हो? कार्यक्रम जेन्युइन हो कि होइन? पहिले के कस्तो कार्यक्रम गरेको थियो र व्यवस्थापन कस्तो छ? त्यो सबै कुरा एकपल्ट बुझ्छु। अगाडि नै काम भएकोसँग गाह्रो भएन। नयाँसँग कार्यक्रमको अनुभव छ कि छैन भन्ने बुझेर मात्रै गर्छु। त्यसपछि अडियन्स र भेन्युको कुरा गरिन्छ।
हरेकचोटि स्टेजमा जाँदा कस्तो महसुस गर्नुहुन्छ?
सुरुसुरुमा स्टेजमा जाँदा डर बढी हुन्थ्यो। दर्शकसम्म पुगौँ भन्ने इच्छा भए पनि भिड देखेपछि स्टेजमा प्रस्तुत हुँदा गाह्रो हुन्थ्यो। तर, बिस्तारै अभ्यस्त भइँदोरहेछ। अडियन्स हुँदा दामी गर्छु भन्ने जोस आउँछ। उहाँहरूको प्रत्यक्ष रेस्पोन्स सुनेपछि छुट्टै मजा आउँछ। मुख्यचाहिँ अवसरजस्तो लाग्छ। किनभने, कुनै क्षेत्रमा भए त्यति धेरै मान्छे भेट्न पाउँदैनथेँ होला। विभिन्न क्षेत्रका मान्छेलाई देख्न र अनुभूति गर्न पाउँदा धेरै खुसी लाग्छ।
स्टेज कार्यक्रमबाट आम्दानी कस्तो हुन्छ?
राम्रै कमाइ हुन्छ। महिनामा कम्तीमा पाँच-सातवटा सो गर्दा पनि आम्दानी राम्रै हुन्छ। त्योभन्दा धेरै गर्नेको त अझ राम्रो भइहाल्यो। देशमा अरु पेसा व्यवसाय गरेर जुन आर्यआर्जन भइरहेको छ, त्यस हिसाबले हेर्दा यताको नराम्रो भन्न मिल्दैन। यो अवसर पाउने कतिजना भन्ने अर्को पक्ष छ। जसले यो अवसर पाइरहनुभएको छ, उहाँलाई राम्रो छ।
आगामी योजना के छ?
त्काल त स्टेज प्रोगामकै तालिका छ। नयाँ वर्षको आसपासमा धेरै कार्यक्रम छन्। नयाँ गीत आएको छ। राम्रो प्रतिक्रिया आइरहेको छ। चहलपहल बढाएको छ।
Shares
प्रतिक्रिया