ad ad

राजनीति


अन्तत: यामलाल कर्णालीको मुख्यमन्त्री बन्दै

प्रदेश सभाबाहिर एमाले कार्यकर्ताहरूको भिड
अन्तत: यामलाल कर्णालीको मुख्यमन्त्री बन्दै

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १६:४३, काठमाडौँ

लगातार अभागी सावित हुँदै आएका नेकपा एमालेका नेता यामलाल कँडेल अन्तत: कर्णाली प्रदेशको मुख्यमन्त्री हुने भएका छन्।

अघिल्लै प्रदेश सभाको कार्यकालमा मुख्यमन्त्री हुने उनको जमर्को नेकपा एमालेमा आएको विभाजनका कारण सम्भव भएको थिएन।

२०७९ को निर्वाचनलगत्तै फेरि उनले मुख्यमन्त्री हुने कोसिस गरे। तर २०७९ पुस १० गते बनेको एमाले-माओवादी गठबन्धनमा भागबन्डा हुँदा पनि उनले अवसर पाएनन्।

कर्णालीमा एमालेका बलिया नेता कँडेलको अब भने भाग्य खुलेको छ। २०७४ र २०७९ सालमा दुई पटक प्रदेशको चुनाव जितेका उनी अब कर्णालीको मुख्यमन्त्री बन्ने पक्का भएको छ। 

२०७९ को निर्वाचनपछि कांग्रेस र माओवादी केन्द्रको समीकरण भत्किएर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए। त्यसबेला पनि उनी मुख्यमन्त्रीको दौडमा थिए।

तर दुई महिनामै उक्त गठबन्धन भत्कियो। एमाले-माओवादीले कर्णालीबारे गरेको सहमतिले उनलाई रोकेको थियो।

त्यसबेला एमालेले सभामुख लिएर ५ वर्ष नै माओवादी केन्द्रलाई मुख्यमन्त्री दिएको थियो।

सूदूरपश्चिम, बागमती, मधेस जस्ता प्रदेशमा आलोपालो मुख्यमन्त्रीमा सहमति बनेको थियो। तर कर्णाली, कोसी, लुम्बिनी र गण्डकीमा एउटै दलले ५ वर्ष सरकारको नेतृत्व गर्ने गरी त्यसबेला सहमति भएको थियो। 

यो सहमतिपछि यामलाललाई धक्का लाग्यो। उनी मुख्यमन्त्रीको दौडमा हुँदै गर्दा माओवादीलाई ५ वर्ष नै नेतृत्व दिन एमाले केन्द्रले सहमति गरिसकेको थियो। 

त्यसबेला उनलाई रोकेर माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री भएका थिए। तर केन्द्रमा एमालेसँगको गठबन्धन केही महिनामै टुटेर कांग्रेससहितको समीकरण बन्यो। जुन समीकरणबाट पनि राजकुमार शर्मा लगातार मुख्यमन्त्री रहे।

यसबीचमा गत फागुन २१ गते माओवादी केन्द्र एमालेसहितको गठबन्धनमा फर्किएपछिको भागबन्डाले अभागी सावित यामलालको सत्ता यात्राको ढोका खोलिदियो।

एमाले र माओवादीले गरेको भागबन्डाअनुसार अब कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। त्यसकै लागि मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिइसकेका छन्। 

उनै राजकुमार शर्मालाई राजीनामा गराएर अब कँडेल कर्णालीको मुख्यमन्त्री हुन लागेका हुन्। 

यामलाल मुख्यमन्त्री बान्ने भएपछि सुर्खेतस्थित प्रदेश सभाभवनबाहिर कार्यकर्ताकाे भिड लागेको छ। कर्णालीमा माओवादीको पकड भए पनि अध्यक्ष प्रचण्डले सहमति पालना गराउन राजकुमारलाई सत्ताबाहिर पठाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .