ad ad

राजनीति


गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने : सरकार ढाल्ने षडयन्त्र भयो

गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने : सरकार ढाल्ने षडयन्त्र भयो

नेपालखबर
फागुन ४, २०७६ आइतबार १४:३४,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा पुगेर आफ्नो सरकार ढाल्न विभिन्न षड्यन्त्रहरु भएको बताएका छन।

वर्तमान सरकारले विकास र समृद्धिको माहोल तयार गरेको देखेर विकासको गति रोक्ने र मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने मनसायले सरकार ढाल्ने षडयन्त्र भएको प्रधानमन्त्री ओलीले बताए।

दशैँपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीले दमकमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै सो कुरा बताएका हुन्।

सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको दाबी गरेका ओलीले कसले त्यस्तो षड्यन्त्र गरिरहेको हो भन्नेबारे भने मुख खोलेनन्।

‘सरकार ढाल्न विभिन्न षडयन्त्र भइरहेको छ, सरकारलाई कमजोर पार्न खोजिएको छ,’ उनले भने।

सरकारले आफ्नो कार्यकालको दुई वर्ष पूरा भएको एकदिनपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो। ओली नेतृत्वको सरकारले शनिबार दुई वर्ष पुरा गरेको छ।

सरकारलाई दुई वर्षपछि अविश्वासको मत पेश गर्न पाउने संवैधानिक प्रावधानको चर्चा शुरु भएकै बेला प्रधानमन्त्री स्वयंले सार्वजनिक कार्यक्रममा सो प्रसंग उल्लेख गरेका छन्।

स्वास्थ्यमा समस्या आएका कारण लामो समयदेखि उपत्यकाबाहिर नगएका प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार बिहान झापा पुगेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका सदस्य इन्द्र भण्डारीले प्रधानमन्त्री ओली दशैँपछि पहिलोपटक गृहजिल्ला झापा पुगेको बताए।

‘दशैँको शुभकामना आदाप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएको थियो, त्यसपछि अहिले आउनुभएको हो’, नेपालखबरसँग कुरा गर्दै भण्डारीले भने। उनले प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सहभागी हुने जानकारी दिए। प्रधानमन्त्री ओली झापा क्षेत्र नम्बर ५ बाट संघीय संसदमा निर्वाचित भएका हुन्।

प्रधानमन्त्री ओलीले दमक–रवि चिसापानी सडकको शिलन्यास, झापा, मोरङ जोड्ने मावा खोलाको पुल उद्घाटन, दमक कृष्ण मन्दिर–बेलडाँगी जाने सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको भण्डारीले बताए। त्यस्तै प्रधानमन्त्री आवासय कार्यक्रम अन्तर्गत रहेका विभिन्न आवासहरु हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .