प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौला बालुवाटार पुगेका छन्।
सिटौलानिकट स्रोतका अनुसार प्रधानमन्त्री भेट्न प्रतिधिसभा सदस्यसमेत रहेका कांग्रेसका महामन्त्री थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका पूर्वमहामन्त्री सिटौला मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन्।
गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी आरोप अनुसन्धान गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले संसद् बैठक अवरोध जारी राखेका बेला प्रधानमन्त्री भेट्न कांग्रेस नेता थापा र सिटौला बालुवाटार गएका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले बोलाएपछि उनीहरू भेटका लागि गएका थिए।
संसद् बैठकमा जारी कांग्रेसको अवरोध खुलाउनेबारे सभामुख देवराज घिमिरेले सोमबार चार दलबीच छलफल गराए पनि सहमति हुन सकेको थिएन। कांग्रेसले आफ्नो अडान नछाडेपछि सहमति हुन नसकेको हो।
Shares
प्रतिक्रिया