राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारले आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान दिएको भनी कटाक्ष गरेका छन्।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएकाले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उक्त निर्णयप्रति टिप्पणी गर्दै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछ!’
उक्त मौकामा उनले स्वदेशका ‘राजा’लाई श्रीपेच दिन माग गरेका छन्।
उनले लेखेका छन्, ‘नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ।’
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना माग गर्दै सरकारलाई ४० बुँदै ज्ञापनपत्र बुझाएको छ।
कतारका राजा थानी नेपालको राजकीय भ्रमणका सिलसिलामा मंगलबार काठमाडौँ आउँदै छन्।
दुई दिन नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाललगायतसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा द्विपक्षीय सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
Shares
प्रतिक्रिया