कतारी राजा शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न मन्त्रालयका पाँच वटा परियोजनामा मात्र सम्झौता हुने भएको छ।
शिक्षा, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उर्जा मन्त्रालय अन्तर्गत सम्झौता गर्नेगरी योजना तयार पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अन्य योजनाहरुमाथि सोमबार मन्त्रालयमा अबेरसम्म छलफल भएको थियो। तर, नेपालले लगेका एक दर्जनबढी प्रस्तावका सर्त कतारी पक्षले स्वीकार नगर्दा पहिले नै टुंगो लागेका सम्झौतामा मात्र हस्ताक्षर हुने भएको छ।
‘सम्झौताहरु धेरै छलफल गर्यौँ तर टुंगोमा पुग्न सकेन, अहिलेलाई पाँचवटा सम्झौता हुन्छन् होला। शिक्षा क्षेत्रको आपसी सहयोग, खेलकुद क्षेत्रका विकास सम्बन्धी सम्झौता प्राथमिकतामा छन्। यो सम्झौताको फ्रेमवर्क मात्र हो,’ परराष्ट्रका एक अधिकारीले नेपालखबरसँग भने, ‘भ्रमण हुनु नै नयाँ ढोका खुल्नु हो। यसपछाडि थप छलफल हुँदै जान्छ।’
सरकारले भ्रमणलाई उच्च महत्त्व दिँदै मंगलबार सार्वजनिक विदा दिएको छ।
शेख तमिम मंगलबार अपरान्ह नेपाल अवतरण गर्नेछन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमै स्वागत गर्नेछन्।
दुई राष्ट्र प्रमुखबीच औपचारिक भेट भने शीतलनिवासमा हुनेछ। राष्ट्रपति पौडेलले उनको सम्मानमा रात्रीभोज दिनेछन्।
नेपालले गर्न लागेको लगानी सम्मेलनअघि कतारी राजाको भ्रमण महत्वपूर्ण रहेको मन्त्रालयको भनाइ छ।
‘स्रोत र साधनले धनी देशबाट नेपालमा हुन लागेको उच्च तहको भ्रमणको दीर्घकालीन महत्व रहन्छ,’ परराष्ट्रका ती अधिकारीले थपे, ‘कतारी राजाको भ्रमणमा धेरै योजनामा सम्झौता भन्दा पनि सहकार्यको सुरुवात गर्दैछौँ।’
शेखले राष्ट्रपति रामचन्द्र पौडैल, प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री प्रचण्डसँग बुधबार द्विपक्षीय वार्ता हुनेछ। उनले शेखको सम्मानमा दिवाभोज दिनेछन्।
कतारी शेखको भ्रमण टोलीमा ७० जनाभन्दा बढी हुनेछन्। कतारका विभिन्न मन्त्री, उच्चतहका अधिकारीहरु भ्रमणदलमा हुनेछन्।
विशेष विमानबाट कतारी राजा अवतरण गर्दा कम्तीमा आधा घण्टा विमानस्थल बन्द हुनेछ।
Shares
प्रतिक्रिया