प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र प्रदेश सभा सदस्यका लागि बझाङ १ (क) मा भएको चुनावमा जारी मतगणनाको सुरुवाती रुझानले पुरानै दलको वर्चस्व कायम रहने देखाएको छ ।
सुदूरपूर्वको पहाडी जिल्ला इलाम र सुदूरपश्चिमको हिमाली जिल्ला बझाङमा सँगै चुनाव हुनु एउटा संयोग मात्र थियो। तर, देशको फरक भूगोलका अलग निर्वाचन क्षेत्रलाई नमुना मान्ने हो भने गत आम निर्वाचनपछिको जनमत मापनका रुपमा पनि यस निर्वाचनलाई लिन सकिन्छ।
यसरी हेर्दा नयाँ र स्वतन्त्र भनिएकाहरुको प्रदर्शन कमजोर देखिएको छ भने पुरानै दलहरुको वर्चस्व यथावत् हुने संकेत गरेको छ।
खासगरी इलामको चुनावमा यसपालि दुईवटा पक्षको उपस्थिति आमचासोमा थियो। एक, गत आम निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लोकप्रियता। दुई, कोसीको नामकरणलाई लिएर पहिचानपक्षधरबाट भएका गतिविधिप्रतिको जनधारणा।
यी दुवै कुराको सही मापन चुनावबाहेक अरु केही हुन सक्दैनथ्यो।
व्यापक सांगठनिक सञ्जाल र लामो समयदेखि संसदीय राजनीति गरेका दललाई चुनौती दिँदै नयाँ दल रास्वपा र पहिचानपक्षर बेग्लाबेग्लै उम्मेदवार लिएर चुनाव प्रचारलाई आक्रामक बनाएका थिए।
चुनाव प्रचार जति नै आक्रामक बनाए पनि पुराना दलको विकल्पका रुपमा उनीहरु अगाडि आउन सकेनन्।
सुरुवाती परिणाममा नै कांग्रेस र एमाले प्रतिस्पर्धामा देखिन्छन्। राजनीतिशास्त्रका प्राध्यापक डा लोकराज बरालका अनुसार, यसले गरेको संकेत हो– नेपालमा अझै पुराना भनिएका दलप्रति जनताको आशा जीवितै छ।
नयाँ दलका रुपमा २०७९ देखि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा राम्रै उपस्थिति जनाएको थियो। स्थापना भएको ६ महिनामै चुनावमा होमिएको रास्वपाले त्यसबेला प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ सिट जितेको थियो। अझ २०८० वैशाख १० मा तनहुँको उपचुनावमार्फत रास्वपाले कांग्रेसको गढ खोसेको थियो।
त्यसयता पुराना दलहरुप्रति जनतामा वितृष्णा झन् बढेको र अब जता चुनाव भए पनि नयाँले तिनलाई विस्थापित गर्ने हो कि भनेर पनि विश्लेषणहरु भएका थिए।
यसपालिको चुनावमा रास्वपा र यस पार्टीका सभापति रवि लामिछानेले सबै शक्ति इलामकेन्द्रित गरेका थिए। उनी पुराना दललाई अप्रत्याशित नतिजा दिन चाहन्थे ।
तर, फाकफोकथुम गाउँपालिकाको २, ३ र ४ नम्बर वडाको मतगणना सकिँदा रास्वपाका मिलन योङहाङ लिम्बुले हजार मत पु¥याउन सकेनन्। यो सामग्री तयार पार्दासम्मको तथ्यांक हेर्दा उनी चौथो स्थानमा छन्। अझ, कांग्रेस र एमालेभन्दा निकै पछाडि।
लिम्बुलाई पहिचान पक्षधरको नेतृत्व गरेर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिमले पछि पारेका छन्।
एमालेका सुहाङ नेम्बाङले उल्लेख्य मतान्तरसहित अग्रता कायम राखेका छन् भने कांग्रेसका डम्बर खड्काले एमालेसँगको प्रतिस्पर्धामा छन्।
अघिल्लो चुनावमा माओवादीको साथ पाएका खड्काले यसपालि कांग्रेसको बलमा मात्र चुनाव लड्नुपरेको थियो भने विगतमा एक्लै लडेर तत्कालीन सत्ता गठबन्धनलाई पराजित गरेको एमालेलाई यसपालि माओवादी केन्द्रको काँध छ।
प्रारम्भिक नतिजाकै भरमा अन्तिम निष्कर्ष निकाल्नु हतारो हुन्छ। बाकस खुल्दै जाँदा नतिजा उल्टिन पनि सक्छ। जस्तो कि २०७९ मंसिरमा मकवानपुर–१ मा राप्रपाका दीपक सिंहले त्यसैगरी नतिजा उल्टाएका थिए।
कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले सुरुदेखि लिएको अग्रता सिंहले मतगणना सकिने बेलातिर एकैपटक उछिन्दै चुनाव जितेका थिए।
तर, १७ महिनापछि उपचुनाव भएर मतगणना भइरहेको इलाम–२ मा पुराना दलको विरासत भत्किने सम्भावना कम रहेको प्राडा बरालको भनाइ छ।
‘एमाले र कांग्रेस मुख्य पार्टी रहेछन् र यिनीहरुकै जनतामा होल्ड रहेछ भन्ने देखियो,’ वरालले नेपालखबरसँग भने।
अहिलेसम्मको मत प्रवृत्ति हेर्दा पुराना राजनीतिक दल नै हाबी भएको पद्यकन्या क्याम्पस राजनीतिशास्त्र विभागकी प्रमुख सविताकुमारी मल्लिक बताउँछिन्।
यिनै दलको विकल्प दाबी गरी आएका रास्वपा र स्वतन्त्र उम्मेदवारलाई मतदाताले विश्वास गरिसकेको देखिएको छैन।
उपचुनावको प्रारम्भिक रुझानले एमाले उत्साहित छ। नयाँ दललाई पछि पार्न सकेकामा कांग्रेस पनि खुसी नै छ।
‘मतदाता परिवर्तन चाहन्छन् तर पार्टी छोड्न चाहँदैन भन्ने देखायो,’ मल्लिकले भनिन्, ‘जनता पार्टीगत राजनीतिमा लागेपछि वर्षाैँ लगानी गरेको हिसाब गरेर मत दिन थाल्छन्।’
गणतन्त्र स्थापना भएयता कांग्रेस, एमाले र माओवादीका नेताहरु बढीजसो समय सत्तामा रहे। उनीहरुप्रति आमनागरिकमा प्रशस्तै असन्तोष र आक्रोश पनि छ। तर, आशा पनि उनीप्रति नै रहेको यस मत प्रवृत्तिले देखाएको राजनीतिशास्त्रीहरुको बुझाइ छ।
‘जतिसुकै असन्तुष्टि भए पनि एकाधबाहेकले पुरानो पार्टी छोड्न नचाहेको देखिन्छ,’ मल्लिकको बुझाइ छ।
यही ट्रेन्ड कायम रहे पुराना दललाई आगामी चुनावमा थप हौसला बढ्ने देखिन्छ।
तर, इलाम २ मा व्यक्ति र सहानुभूतिले पनि काम गरेको उनको भनाइ छ।
संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्बाङको भदौ २५ गते बेलुका निधन भएपछि सो क्षेत्र रिक्त भएको हो।
एमालेले सुवासकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ।
‘सुवासको राजनीतिक उचाइ बेग्लै थियो, सुहाङको व्यक्तित्वले पनि भूमिका खेल्यो,’ उपप्राध्यापक मल्लिकले थपिन्, ‘अहिले नै पहिचान पक्ष वा स्वतन्त्रलाई विश्वास गरिहाल्ने अवस्था देखिएन।’
इलाम–२ मा ४२ वटा वडा छन् र ६९ हजार २८७ मत खसेको छ। सुरुवाती रुझान कायम रहे पूरै मत गणना भइसक्दा एमाले–कांग्रेसमध्ये एकले नतिजा आफ्नो पक्षमा पार्ने देखिन्छ।
राजसंस्थाको वकालत गर्दै २०७९ मंसिरको चुनावमा १४ सिट जितेको राप्रपाको पनि यो उपनिर्वाचनमा निकै फितलो उपस्थिति देखिएको छ।
प्रतिनिधि सभामा मात्र होइन, उपचुनाव भइरहेको प्रदेश सभा (बझाङ)मा पनि एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ।
‘हुन त यो प्रारम्भिक मतपरिणाम हो, तर सुरुवातमै पुरानै पार्टीको बर्चस्व छ भन्ने प्रष्ट देखाएको छ,’ वरालले नेपालखबरसँग भने, ‘मतदाताले विकल्प खोज्छन् कि भन्ने थियो तर त्यसो भएन।’
रास्वपाका सभापति रवि लामिछाने र उनको दलको लोकप्रियता घटेको संकेतका रुपमा पनि यसलाई लिन सकिने प्रा बरालको भनाइ छ। इति मात्र होइन, रविकै कारण उनको दलको जनमत घटेको उनको विश्लेषण छ।
‘रविजी मन्त्री, गृहमन्त्री बन्न जाँदा उनमा पनि सत्ताको लोभ रहेछ भन्ने देखियो,’ डा. बरालले थपे, ‘रविजीको क्रेज विस्तारै घट्दै गयो।’
Shares
प्रतिक्रिया