नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले अगाडि बढेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सार्वजनिक सेवा प्रसारणको काममा फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले विधेयक गएको भन्दै त्यसो नगर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराए।
उनले आज सत्तामा छु भनेर सधैँ सत्तामा रही नरहने भन्दै सत्ता बाहिर हुँदा पनि र सत्तामा रहँदा पनि बराबर हुने गरी विधेयक बन्नुपर्नेमा जोड दिए। उनले जहाँ पनि हुन सक्छौँ भन्ने मान्यताबाट सार्वजिनक सेवा प्रसारण विधेयक बनाउनुपर्ने धारणा राखे। सार्वजनिक प्रसारणलाई सरकारी प्रसारण हुन नदिन उनले आग्रह गरे।
उनले भने, ‘सार्वजनिक सेवा प्रसारणको काममा फेरि मन्त्रालयको हालीमुहाली हुने तरिकाले विधेयक गएको छ, त्यसो नगरिदिनुस्। आज पो तपाईं सत्तामा हुनुहुन्छ, भोलि म त्यहाँ जाउँला। तपाईं अर्कोतिर पर्नुहोला। त्यसैले हामी जहाँ पनि हुनसक्छाँै भन्ने मान्यताबाट सार्वजिनक सेवा प्रसारण सार्वजनिक सेवा प्रसारण नै होस्, सरकारी सेवा प्रसारण नहोस्।’
नेता रिजालले निर्वाचनमा जित्ने र हार्नेबाट मात्रै प्रजातन्त्र हुन नसक्ने बताए। उनले सत्तामात्रै अन्तिम सत्य हो भन्ने बाटोबाट हिँड्न नहुने पनि बताए।
Shares
प्रतिक्रिया