प्रधानसेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन्।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका हुन्।
संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवासन, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखापरे पनि समाधान नै गर्न नसक्ने प्रकारका कुनै पनि चुनौती नरहेको उनले स्पष्ट पारे। उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरू हुने गरे पनि ती समस्यालाई स्थानीयस्तरमै राजनीतिक दलहरूले मिलाउने गरेको बताए।
उनले भने, ‘नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवासन, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखापरेका छन्। यसका साथसाथै कहिलेकाहीँ धार्मिक, सांस्कृतिक एवं जातीय पहिचानको आधारमा सञ्चालन भएका सानातिना घटनाहरू र गतिविधिले गर्दा हाम्रो एकतामा कतै खलल पुग्छ कि भन्ने परिवेशको आकलन पनि गरेको छौँ तर अहिलेसम्म हाम्रो एकतामा कुनै असर पुगेको छैन।’
उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए।
उनले भने, ‘राष्ट्रिय राजनीति जहिले पनि तरल हुन्छ। त्यो जस्तै देशमा पनि। त्यो कुनै नयाँ कुरो होइन। यसप्रति हामी चनाखो भएर रहेका छौँ भन्न चाहन्छु।’
उनले पहिचानवादीहरू बेलाबेलामा आन्दोलित हुने गरे पनि राष्ट्रिय समस्याको रूपमा नरहेको स्पष्ट पारे। त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नगरेको उनको भनाइ छ।
प्रधानसेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए। भारत र चीनबीच दक्षिण एसियाली क्षेत्रमा बढिरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको विश्लेषण पनि सुनाए।
‘त्यसको असर अवश्य पनि हाम्रोजस्तो देशलाई पर्दछ,’ संसदीय समितिमा सेना प्रमुखको भनाइ थियो, ‘म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरू निम्त्याउन सक्छन्।’
प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरू भारत र चीनलाई कहिल्यै पनि चिढ्याउन नहुने बताए। यद्यपि उनीहरूले नचाहिँदो कुरा गरेमा त्यसको विरोध गर्नुपर्ने उनको धारणा छ।
नेपालमा युरोपेली संघ र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने विचार राखे। देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ।
प्रधानसेनापनि शर्माले भने, ‘राष्ट्रिय सुरक्षाको सवाल उठ्दा हामीले दुईवटा देश आफ्ना छिमेकीहरूलाई कहिल्यै पनि चिढ्याउनुहुँदैन। र, उनीहरूले नचाहिँदो कुरा गरे भने विरोध पनि गर्नुपर्छ। नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि इन्ट्रेस्ट छ। उनीहरूसँग पनि ब्यालेन्स गर्नुपर्छ। चीन, भारत, युरोपियन युनियन र अमेरिकाले जे भन्यो, त्यो गर्ने होइन कि हामीले यी छिमेकीलाई चिढ्याउनुहुँदैन।’
उनले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको जिकिर पनि गरे।
Shares
प्रतिक्रिया